रोनाल्डो र मेस्सीलाई पछि पार्ने काका अन्तिम स्टार

बुधबार, ०५ पुस २०७४, १४ : ५८
रोनाल्डो र मेस्सीलाई पछि पार्ने काका अन्तिम स्टार

विश्व फुटबलमा मेसी र रोनाल्डोको राज शुरु हुनअघि उनीहरुको पोजिसनमा काका थिए । आफ्नो खेलशैली र आक्रमणबाट उनी धेरैभन्दा धेरै फुटबल समर्थकको मनमा बस्न सफल रहे ।

यो थियो एक दशकअघिको कुरा । सन् २००७ मा काकाले फिफा वर्ष खेलाडीको अवार्ड जित्दा मेसी र रोनाल्डो क्रमशः यस प्रतिष्ठित अवार्डको दोस्रो र तेस्रो स्थानमै सिमित भए । त्यसपछिको एक दशक यो प्रतिष्ठित अवार्ड मेसी र रोनाल्डोले ५–५ पटक बाँडे ।

विश्व फुटबलका यी दुई खेलाडीसँग तुलना गर्दा काका अवश्य नै पछाडि पर्नेछन् । तर उनी मेसी र रोनाल्डोले एकछत्र राज जमाउनुभन्दा अघि उत्कृष्ट ठहरिएर फिफा वर्ष खेलाडीको अवार्ड जित्ने अन्तिम स्टार हुन् । काकाको फुटबल जीवनका गर्व गर्न लायक कैयन पक्षमध्ये यो पनि एक पाटो हो ।

यो कहानी ब्राजिलको साओ पावलो शहरबाट सुरु भएको थियो । तर यसमा पनि केही फरकपना छ । जस्तो ब्राजिलका अन्य फुटबलरहरु गरिबीसँग संघर्ष गर्दै स्टार बन्छन् । काका सम्पन्न परिवारमा जन्मिए । उनका बाबु इन्जिनियर थिए । बाल्यकालमा टेनिसमा रुची राख्ने काका विस्तारै फुटबलतर्फ आकर्षित हुँदै गए । छोटो समयमै उनी चर्चित भइसकेका थिए । तर १८ वर्षको उमेरमा पौडीपोखरीमा दुर्घटना भएपछि काका केही समय प्यारालाइसीसको शिकार भए । उनको मेरुदण्डको एउटा हड्डी नै भाँचिएको थियो । अब उनले फुटबल खेल्न नसक्ने चिकित्सकहरुको अनुमान थियो ।

घटना सन् २००० को अक्टुबरको थियो, त्यतिबेला उनी साउ पाउलोको जुनियर टोलीमा खेल्थे । तीन महिनासम्म उनले हिँडडुल गर्न सकेनन् । तर, चामत्कारिक ढंगले उनी रोगबाट छिट्टै मुक्त भए ।  उनी यसको श्रेय भगवानलाई दिन्छन् । धेरैले उनी यहीँबाट सच्च क्रिस्टियन बनेको पनि बताउँछन् । जेहोस् उनको चामत्कारिक स्वास्थ्य लाभले उनलाई सफलताको लागि नयाँ ढोका खोलिदियो । सायद उनको भाग्यमा दक्षिण कोरिया र जापानमा आयोजना हुने सन् २००२ को विश्वकप खेल्न जान लेखिएको थियो । त्यसैले, स्वास्थ्यमा चमत्कारिक सुधार आएको छोटो समयमै उनी ब्राजिली टोलीमा परे ।

रोनाल्डो, रिभाल्डो, रोर्बर्टो कार्लोस, काफु र रोनाल्डिन्होजस्ता महान् खेलाडीको महत्वपूर्ण प्रदर्शनमा ब्राजिलले विश्वकप जित्दा काका वैकल्पिक खेलाडीका रुपमा बेन्चमै थिए । उनले समूह चरणमा कोस्टारिका विरुद्धको खेलबाहेक अन्य कुनै खेल खेल्न पाएनन् । विजेताको मेडल भने थापे । तर, काका आफ्नै खुट्टाको बलमा विजेता बन्ने समय आउदैँ थियो ।

सन् २००३ मा एसी मिलान आएपछि काकाको स्वर्णिम दिन सुरु भए । मिलानले उनलाई सस्तैमा किनेको थियो । त्यो पनि ठूलो अपेक्षा राखेर होइन । तर, उनको आगमनपछि रुई कोस्टा र रिभाल्डोजस्ता अनुभवी खेलाडी समेत बेन्चमै थन्कनुपर्यो । इटलीमा काकालाई नयाँ जीवन अंगाल्न कुनै कठिनाई भएन । यहाँको संस्कृति र जीवनपद्धतिसँग उनी मज्जाले घुलमिल भए । समर्थकका प्रिय खेलाडी बने ।

काकाको सबल पक्ष भनेकै उनको ड्रिब्लिङ कला थियो । उनमा गोल गर्ने क्षमता त छँदै थियो, उनी आफ्ना समकक्षीका लागि त्यतिकै गोलका अवसरहरु सृजना गर्थे । पास दिने तरिका पनि छरितो थियो । काकाले के साबित गरिदिए भने फुटबल सामान्य खेल नै हो । सामान्य रहँदा नै यसको सुन्दरता कायम रहन्छ ।

उनको कमजोरी र बलियो पक्ष हेर्नका लागि च्याम्पियन्स लिगका दुई फाइनल खेलको रि टेलीकास्ट हेरेपुग्छ । सन् २००५ को फाइनलमा लिभरपुलका प्रशिक्षक राफाल बेनिटेज खेलाडी छनोटमा चुक्दाको फाइदा काकाले मज्जाले उठाए । उनले काका विरुद्ध खेल्ने होल्डिंग मिडफिल्डर राखेनन् । परिणाम, पहिलो हाफभर काका खेलमा हाबी देखिए । मिलानले ३ शुन्यको अग्रता लियो ।

दोस्रो हाफमा बेचिनटेजले डिडियर हम्मानलाई पठाए । त्यसपछि कथा फेरियो । लिभरपुलले खेल बराबरी मात्रै गरेन, टाइब्रेकरमा जित हासिल गर्दै उपाधि नै जित्यो ।

२ वर्षपछि फेरि च्याम्पियन्स लिगको फाइनलमा यी दुई टोली भिडे । काकाको क्षमता बुझेका बेनिटेजले यसपटक जाभियर मास्चेरानोलाई काकामाथि पूर्ण निगरानी राख्ने जिम्मेवारी दिएका थिए । काका हाबी हुन पाएनन् । उनी शान्त रहँदा लिभरपुलले एक शुन्यले पछि परेको अवस्था उल्ट्याउनका लागि संघर्ष गरिरहेको थियो । एक्कासी प्रशिक्षकले मास्चिरानोलाई बेन्चमा बोलाए । त्यसपछि काका खेलमा हाबी भए । उनले नै फिलिपो इन्जाघीलाई दोस्रो गोलका लागि पास दिए । त्यही गोल निर्णायक साबित हुनपुग्यो । खेल मिलानले २–१ ले जित्दै २ वर्षअघिको बदला लियो ।

यस सिजन काका च्याम्पियन्स लिगका उच्च गोेलकर्ता थिए । फिफा क्लब विश्वकपको उपाधि पनि मिलानले नै जित्यो । काका फिफा वर्ष खेलाडी घोषित भए । तर फेरि त्यस्तो क्षण कहिल्यै फर्किएन ।

मिलानमा रहँदा उनले १९३ खेलमा ७० गोल गरे । उनको मद्दतले मिलानले लिग उपाधिका साथै लिग कपको उपाधि जित्यो ।

रियलमा रोनाल्डोको छाँयामा
सन् २००९ मा तत्कालिन विश्व किर्तिमानी मूल्य ६८.५ मिलियन युरोमा मिलानबाट रियल सरुवा भए । तर, त्यहाँ आए पछि उनी लगातार चोटको शिकार बने । काकाको खेल जीवन पहिलेजस्तो हुन सकेन । त्यसमाथि प्रशिक्षक जोसे मोरिन्होसँग पनि उनको सम्बन्ध राम्रो रहन सकेन भने सधैँ रोनाल्डोको छाँयामा परे । रियलका लागि ८५ खेलमा उनले २३ गोल गरे । त्यहाँ उनले कोपा डेल रे र ला लिगाको उपाधि जिते ।
निरन्तर चोटमा पीडित भएपछि उनी सन् २०१३ मा फेरि मिलान फर्किए । तर पहिलेजस्तो प्रभावकारी देखिएनन् । त्यसपछि लोनमा ब्राजिली क्लब साओ पावलोमा केही समय बिताएका काकाले पछिल्लो समय अमेरिकी क्लब ओर्लान्डो सिटीबाट खेले ।

विश्वकपको पीडा
सन् २००६ र सन् २०१० को विश्वकप काकाको खेल जीवनकै सबैभन्दा स्तब्धकारी घटना रह्यो । सन् २००६ मा काका र रोनाल्डिन्होजस्ता मिडफिल्डर तथा  रोनाल्डो र एडियानोजस्ता स्टाइकर भएर पनि ब्राजिली टोलीले केही गर्न सकेन । काकाले यस विश्वकपमा क्रोयशिया विरुद्ध लामो दुरीबाट गोल गरे । जून उनले विश्वकपमा गरेको एकमात्रै गोल बन्न पुग्यो । तर फ्रान्ससँग पराजित भएपछि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो ।
सन् २०१० मा नेदरल्यान्डससँग पराजित भएपछि ब्राजिल फेरि क्वाटरफाइनलबाटै बाहिरियो । यसपटक पहिलेजस्तो स्टार खेलाडीहरुले सजिएको टोली भने थिएन । काका नै केन्द्रीय भूमिकामा थिए । उनले नेदरल्यान्डस् विरुद्ध गरेको प्रहार बारमा नठोक्किएको भए कथा फरक पनि हुनसक्थ्यो । तर काकाले विश्वकपमै चोट बोके । यसले उनको करियरमै ठूलो प्रभाव राख्यो ।

ब्राजिलमा सन् २०१४ मा आयोजना भएको विश्वकप खेल्न नपाउनु काकाको जीवनकै सबैभन्दा पीडादायी क्षण हो । यही विश्वकपपछि उनले बुट थन्क्याउने विषयमा सोच्न थालेका थिए । अब त निर्णय नै लिए ।  उनले मिलानमा बिताएका स्वर्णिम ६ वर्ष भने सधैं सम्झनामा रहनेछ । उनी एसी मिलानका अहिलेसम्मकै महान् खेलाडीमध्ये एक मानिन्छन् ।

र, अन्त्यमा
एसी मिलानबाट समेत खेलेका ब्राजिली फुटबलर रोनाल्डिन्होकै भनाई मान्ने हो भने, मिलानमा छदाँका २ देखि ३ वर्ष काका यस्तो फर्ममा थिए । जतिबेला उनले विश्व फुटबलमा गर्न नसक्ने केही थिएन ।

अन्ततः उनले सन् २०१७ को डिसेम्बर १७ मा विश्व फुटबलबाट सन्यास लिए । उनलाई एसी मिलानले क्लबको निर्देशक बन्न अफर गरेको छ । अब फुटबल मैदान बाहिर उनले कुन बाटो पक्रने छन्, त्यो भने हेर्न बाँकी रहेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस