चितवनको व्यापारिक केन्द्रमा घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १६ : ०२
चितवनको व्यापारिक केन्द्रमा घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल

चितवन। उद्योग वाणिज्य संघ चितवनले व्यापारिक केन्द्रको घर भाडा सकभर नबढाउन र सकेसम्म छुट दिन अपिल गरेको छ ।संघले देशमा चरम आर्थिक मन्दीका कारण व्यापार र व्यवसायिक गतिविधिमा ह्रास आएको भन्दै शुक्रबार सबै घरधनीहरुलाई सो अपिल गरेको हो ।संघले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाहरुले लिने गरेको चर्को बैँक ब्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको जनाएको छ ।

संघले भनेको छ, ‘औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकी समेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत बृद्धि नहुँदा उद्यमी व्यवसायीमात्र होइन सबै तह र तप्काका उपभोक्ताहरु समेत प्रभावित भएका छन् । वर्तमान विषम् परिस्थितिमा सबै जना एक जुट भएर विद्यमान अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।’

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरुले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था छ भने अर्को तर्फ घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको जनाएको छ । यस्तो परिस्थितिमा घर बहालमा लिने र दिने दुवै पक्ष आपसी समझदारीमा रही परिस्थितिको सामना गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले घर धनीहरुले कम्तिमा यो अवस्था सहज नहँुदासम्मको लागि घर भाडामा केही प्रतिशत छुट दिन संघको माग छ ।

त्यस्तै घर बहाल सम्झौता बमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीहरुले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न संघले सबैमा अपिल पनि गरेको छ । संघले भनेको छ, ‘यस किसिमका संकटको घडीमा सरोकारवाला सबै पक्षबीच आपसी सद्भाव र सहिष्णुता झनै आवश्यक पर्छ । आगामी दिनमा आउन सक्ने आर्थिक संकटलगायत व्यवसायिक समस्या समाधानार्थ व्यवसायीहरुसँगै रही परिस्थितिको सामना गर्नको लागि उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस