कांग्रेस आलोचनादेखि डराउँदैन : शेरबहादुर देउवा

सफल खबर संवाददाता

शनिबार, १३ जेठ २०८०, १३ : २२
कांग्रेस आलोचनादेखि डराउँदैन : शेरबहादुर  देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनले तर्क गरे ।

कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताए ।

‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘श्रमजीवि पत्रकारहरुलाई मारमा पार्ने नयाँ प्रवृत्तिहरु देखिएका छन्’ उनले भने, ‘ठूलो लगानीका भनिने समाचार संस्थाहरुले समेत सञ्चारकर्मीहरुलाई नयाँ विकल्प खोज भन्न थालेको सूचनाहरु हामी कहाँ पनि आउन थालेका छन् । यो बेला श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाको सवालमा हामी सबैले संयुक्त रुपमा एउटा सशक्त अभियान थाल्न जरुरी छ’ उनले भने ।