कृषि उत्पादनमा देश निकै पछाडि : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १० : ४८
कृषि उत्पादनमा देश निकै पछाडि : कृषिमन्त्री भुसाल

भक्तपुर । कृषि तथा पशुपक्षी मन्त्री डा.बेदुराम भुसालले नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताएका छन् ।

नयाँ वर्ष २०८० एवं भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा आजदेखि सुरु भएको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा देश पछाडि पर्दै गएको बताएका हुन् ।

उनले भने, “नयाँ जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशतमात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उतपादनलाई बढाउनुप¥यो ।”

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भक्तपुर जिल्ला कृषि उत्पादनमा अगाडि भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने बताए ।

मन्त्री भुसालले भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विगतका वर्षहरूमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढङ¬्गले सहभागी हुन आग्रह गर्दै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन जात्रा अवधिभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिए ।

त्यस अवसरमा नेकपा (एकीकृत समाजवादी) का भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत र महोत्सवका संयोजक दीपक थापा, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलमा आजदेखि सुरु भएको महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस