एफपीओ नबिकेपछि एनएमबी बैंकमा आर्थिक संकट, शेयर होल्डर र बचतकर्ताको लगानी डुब्ने खतरा

शनिबार, ३० असार २०७५, १८ : ३२
एफपीओ नबिकेपछि एनएमबी बैंकमा आर्थिक संकट, शेयर होल्डर र बचतकर्ताको लगानी डुब्ने खतरा

काठमाडौं । आफूलाई इलाइटहरुको बैंक भनेर चिनाउने एनएमबी बैंकले निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) नबिकेपछि एनएमबी बैंकमा आर्थिक संकट देखा परेको छ । यही आर्थिक संकटको कारण एनएमबी बैंंकका शेयर होल्डर र बचतकर्ताको लगानी डुब्ने खतरा देखा परेको छ ।

पछिल्लो समय बैंकको आर्थिक अवस्था समेत राम्रो नभएको, धेरैभन्दा धेरै रकम जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी गरेको, ती क्षेत्रमा गरिएको लगानी फिर्ता आउन नसकेका कारण पनि नागरिकको लगानी डुब्ने अवस्थामा पुगेको हो । बैंकले निस्काशन गरेको  थप सार्वजनिक निष्काशन (एफपीओ) नबिकेर हैरान भएको एनएमबी बैंकले लाभांशको फण्डा सुरु गरेको छ । एफपीओ नबिक्ने छाँटकाँट देखेपछि एनएमबी बैंकले लाभांशको लोभ देखाई लगानीकर्तालाई पुनः ठग्ने उपाय निकालेको छ ।

गत जेठ ३१ गतेदेखि निष्काशन गरेको एफपीओ एक महिना हुँदासम्म अझै बिकेको छैन । एफपीओको बिक्रीको समय अस्ति बिहीबारसम्म रहेको थियो । तर आधाभन्दा बढी एफपीओ बिक्री हुनै बाँकी रहेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । एफपीओ नबिकेपछि बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यो सरासर लगानीकर्ता डुबाउने फण्डा हो । असार २६ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको थियो ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतका असली कार्यकर्ता धितोपत्र बोर्डमा रहेका डा. रेवतबहादुर कार्कीले मोटो रकम लिएर एनएमबी बैंकलाई एफपीओ बिक्रीको स्वीकृति दिएका थिए । डा. महतलाई नुवाकोटमा निर्वाचन लड्नका लागि भन्दै कार्कीले गत प्रतिनिधिसभाको निर्वाचन अगावै सो बैंकसँग रकम उठाइदिएको जानकारहरुको भनाइ छ । बैंकले डा. महतलाई चन्दा दिएपछि सोही गुन तिर्न डा. कार्कीले एनएमबी बैंकलाई एफपीओ बिक्रीको स्वीकृति दिएका थिए ।
बैंकले जेठ ३० गते देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला थियो । लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३ सय ३३ रुपैयाँका दरले यसमा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । जताततै विज्ञापन गर्दा समेत एफपीओ नबिकेपछि एनएमबी बैंक हैरान परेको छ ।
एनएमबी बैंकको दोस्रो बजारमा प्रतिकित्ता ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । एफपीओ र बजारको मूल्यको अन्तर १३ रुपैयाँमात्रै रहेको छ । नेप्सेमा बैंकको एफपीओ सूचीकृत भएपछि मूल्य घटेर बुटवल पावर कम्पनीलेजस्तै एनएमबीले पनि लगानीकर्तालाई हरिबिजोग बनाउने देखिएको छ । त्यसकारण लगानीकर्ताले एनएमबीको एफपीओमा चासो देखाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस