बुटवल । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ ।
२०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन । आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही-११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम-११ ले प्रतिस्पर्धा गर्ने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ , उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताए ।यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै ५ वटा बिधामा उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसीले बताए ।२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो ।
५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भए पनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भए पनि ६६ मा रोकिएर फेरि ६७ सालमा सञ्चालन भएको थियो । ६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा सञ्चालन भए पनि पछिल्लो पटक ७२ सालमा सञ्चालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
हालसम्म को को विजयी भए ?
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रँ मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लव काठमाडौंले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १५ : ५०
लेखकबाट थप