काठमाडौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।
पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो ।
टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे । लगत्तै अर्को ओभरमा कुल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे ।
९१-४ को अवस्थामा रहेको पीएनजीको इनिङ्स हिरि हिरी र गौडी टोकाले सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले पाँचौ विकेटका लागि १३ ओभर खेल्दै ३२ रनको साझेदारी गरे । गौडी टोकालाई दीपेन्द्रले बोल्ड गर्दै नेपाललाई पाँचौ सफलता दिलाए । टोकाले १५ रन जोडे । ४२औं ओभरमा करण र दीपेन्द्रले चाड सोपरलाई रनआउट गरे । दीपेन्द्रले ४४औं ओभरमा हिरी हिरीलाई आउट गरे ।
सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे ।नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए ।
सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए । किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमश: १ र ६ रन खर्चिए । रोहित र आरिफले मात्र नेपाली इनिङ्समा विकेट लिएनन् । पीएनजीका तीन खेलाडी रनआउट भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १५ : १५
लेखकबाट थप