रेडियोको उपयोगिता कहिल्यै सकिंदैनः उपप्रधानमन्त्री पौडेल

रासस

सोमबार, ०१ फागुन २०७९, १६ : २१
रेडियोको उपयोगिता कहिल्यै सकिंदैनः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिमा जति परिवर्तन भए पनि रेडियोको उपयोगिता कहिल्यै नसकिने बताएका छन् । १२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सोमबार ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलल सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य सँधै उज्यालो रहेको बताए ।

उनले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय पहल गर्न सरकार तयार रहेको बताए । सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि कानुन नबनाइने उनको प्रतिबद्धता थियो । ‘सामुदायिक रेडियोको सन्दर्भमा संघीय अधिकारसँग बाझिने गरी कुनै अभ्यास गर्नै मिल्दैन,’ उनले भने ।

उनले भने, ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन र सामुदायिक रेडियो पनि पछि पर्नु हुँदैन । जेजति समस्या छन्, तिनको समाधानका लागि छलफल गरौँ । यसका लागि दिवस कुरिरहनुपर्दैन ।’

विगतका महत्वपूर्ण आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘आज हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आन्दोलनको उपलब्धिमा सामुदायिक रेडियोको भूमिका स्तुत्य र स्वर्णिम अक्षरले लेखिएको छ,’ उनले भने, ‘भविष्यमा पनि स्वर्णिम अक्षरले लेख्ने गरी काम गर्न शुभकामना छ ।’

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले समावेशीताको सिद्धान्त कार्यान्वयन, लैङ्गिक विभेद अन्त्यका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको बताइन् ।कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय ऐन बिना नै रेडियोको इजाजत दिने काम भइरहेकोमा सरकारको ध्यानाकर्षण गराए । यूनेस्कोका नेपाल प्रमुख मिचेल क्रफ्टले रेडियोले दिने सूचना र जानकारी तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । रेडियोले कुनै व्यक्ति वा वर्गका सीमित विषय पठाउनुनेभन्दा पनि तथ्यमा टेकेर सामग्री बनाउनुपर्ने उनको भनाइ थियो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले मानव विकास सूचकाङ्कलाई बढाउन सामुदायिक रेडियोको योगदान अविस्मरणीय रहेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस