नेपाल लाइफ इन्स्योरेन्सको ठगी धन्दा–२

बीमितले बुझाउने प्रिमियम रकम सञ्चालकको खातामा

शनिबार, २३ असार २०७५, १५ : ३०
बीमितले बुझाउने प्रिमियम रकम सञ्चालकको खातामा

काठमाडौं l संघाई ग्रुपको मुख्य लगानी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठगी धन्दा एकपछि अर्को पर्दाफास भइरहेको छ । कामदारको नक्कली बीमा पोलिसीको घटना सेलाउन नपाउँदै नेपाल लाइफ इन्स्योरेन्सको अर्को ठगी धन्दा सार्वजनिक भएको छ ।
बीमा कम्पनीमार्फत् जीवन तथा निर्जीवन बीमा गराउने बिमितहरुले प्रिमियम वापत बुझाएको रकम सम्बन्धित बीमा कम्पनीमा जम्मा हुनुपर्छ, तर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा गराएका बिमितहरुले बुझाएको प्रिमियम रकम यस कम्पनीका सञ्चालकहरुले आफ्ना अन्य व्यवसायमा लगाउने गरेका छन् । देशभर बीमा एजेण्टहरुको सञ्जाल बिस्तार गरिरहेको नेपाल लाइफले आफ्ना एजेण्टहरुलाई विदेश भ्रमणको लोभ देखाएर बजार बिस्तार गरिरहेको छ ।
एजेण्टहरुको सञ्जाल बिस्तारसँगै बजार फराकिलो भएपछि प्रिमियमवापत संकलन हुने रकम पनि बढिरहेको छ । लाइफ इन्स्योरेन्स कम्पनीमा रकम संकलन र कारोबार बढी हुन्छ, तर त्यो रकम कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेबारे अनुगमन र चेकजाँच नहुँदा बीमा कम्पनीका सञ्चालकहरुले आफूखुसी रकम हिनामिना गर्ने अवसर पाएका छन् । नेपाल लाइफको हरेक आर्थिक वर्षको ब्यालेन्स सिटमा जुन कारोबार देखाइन्छ, वर्षभरि नै त्यो रेकर्ड कार्यालयमा अपटुडेट नरहेको समाचार स्रोतको दाबी छ ।
अवैध लागुऔषध कारोबार, विदेशी मुद्रा अपचलन, राजश्व ठगीलगायत दर्जनौं काण्डमा विवादास्पद छवि बनाएको संघाई ग्रुपको विगतका कृयाकलाप थाहा पाउनेहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कसरी चलिरहेको छ भन्ने सहजै अनुमान गर्न सक्छन् । जीवन बीमा गराउने आमजनतालाई सुरक्षित महसुस गराउनुभन्दा पनि उनीहरुलाई आर्थिक शोषण गर्ने काममा यो कम्पनी उद्यत रहेको स्रोत बताउँछ । वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको नक्कली बीमा पोलिसी काण्डले पनि नेशनल लाइफको ठगी धन्दा उजागर भएको छ ।

यो पनि पढ्नुहोस्
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठगी धन्दा : कामदारको बीमा पोलिसी नै नक्कली
नेपाल लाईफ इन्स्योरेन्स पर्यो ,आर्थिक घोटला गर्नेको हातमा ! अब के हुन्छ ?
 

प्रतिक्रिया दिनुहोस