पर्यटकको संख्या बढ्न थाले पनि अहिलेकै पूर्वाधारले अबको डेढ वर्षपछि घोषणा हुने 'नेपाल भ्रमण वर्ष'का लागि तोकिएको लक्ष्य पूरा हुन नसक्ने पर्यटन व्यवसायीले बताएका छन्।
सरकारले सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष' मनाउने तयारीका साथ त्यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न पूर्वाधारका साथै सरकारी नीतिहरू समेत बाधक रहेको व्यवसायीहरू बताउँछन्। नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको सरकारी तथ्याङ्कले देखाएको छ।
६ महिनामा पाँच लाख बढी
गत पुसको मध्यदेखि यो असारको मध्यसम्ममै करिब सवा पाँच लाख पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ। गत वर्ष पनि नेपाल घुम्न आउने विदेशीको विवरण राख्न थालिएयताकै सबैभन्दा धेरै पर्यटक आएका थिए। गत वर्ष ९ लाख ४० हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ।
बर्सेनि पर्यटक बढे पनि त्यस अनुरुप सेवा-सुविधा नहुँदा अबको डेढ वर्षपछि शुरू हुने 'नेपाल भ्रमण वर्ष' का लागि तोकिएको लक्ष्य पूरा नहुने होटल संघ नेपालका महासचिव विनायक शाह बताउँछन्।
उनले भने, "मास्क लगाएर ट्राफिक कन्जेसनमा बसेर बिदा मनाउन त मान्छे आउँदैनन्। सुधार आवश्यक छ।"
अहिलेकै हिसबाले हेर्दा नेपालमा हरेक वर्ष २० प्रतिशतका दरले पर्यटकको संख्या बढ्ने देखिए पनि बढी खर्च गर्ने खालका पर्यटकलाई लोभ्याउन नसकिएको उनी बताउँछन्।
दैनिक ५४ डलर खर्च
सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष नेपाल आएका पर्यटक औसतमा १२ दिन नेपाल बसेका थिए। र, उनीहरुले दैनिक ५४ डलर अर्थात् करिब ५ हजार ८ सय रुपैयाँ खर्च गरेका थिए।
सरकारी अधिकारीहरू भने पर्यटक आकर्षित गर्न पूर्वाधार विकास गरिरहेको बताउँछन्।
पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको, नेपाल वायुसेवा निगमले ठूला जहाज किनेको र भारतसँग थप हवाईमार्गको सम्झौता भएकाले पूर्वाधारका विषयमा चिन्ता लिनु नपर्ने सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको दावी छ।
उनले पर्यटन मन्त्रालयले मात्र काम गरेर नहुने बताए। "अन्य मन्त्रालयका कार्यसम्पादनसँग यो मन्त्रालयको कार्यसम्पादन जोडिएको छ। ती कुरामा पनि सहकार्य गरेर अगडि बढ्ने प्रयत्न गरिरहेका छौँ,' उनले भने।
सरकारी अधिकारीहरूले भ्रमण वर्षका लागि लिइएको लक्ष्य पूरा हुने बताए पनि कतिपय विश्लेषकहरू पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य महत्त्वाकांक्षी भएको बताउँछन्। -बीबीसी
प्रतिक्रिया दिनुहोस