काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता वृद्धि गर्न लागेको भनेर हल्ला गरेको दुई वर्ष भयो । उद्योगले कहिलेसम्म क्षमता वृद्धि गर्ने भन्ने बताउन सकेको छैन । केही पत्रकारलाई बेलाएर आफूले उद्योगको क्षमता वृद्धि गर्न लागेको बताउने मुरारकाले केही वर्षभित्रै दैनिक तीन हजार ५ सय टन सिमेन्ट उत्पादन गर्ने भन्न पनि छाडेका छैनन् ।
अर्को यस्तै कथा छ शिवम् सिमेन्ट उद्योगको । सर्वसाधारणमा शेयर बिक्री गर्ने अख्तियारी नेपाल धितोपत्र बोर्डले दिइसकेको यस उद्योगले पनि क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले गैरकानुनी रुपमा सो उद्योगलाई डेडिकेटेड फिडर उपलब्ध गराएका थिए । पशुपति मुरारकाको जस्तै यो उद्योग पनि हल्ला गर्न मात्रै उद्दत रहेको देखिन्छ ।
उद्योग नै नभएपनि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेकी भवानी राणाले नयाँ उद्योग ल्याउने भनेर गफ दिएको लामै समय भइसक्यो । असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको साथ लागेर चीन पुगेकी राणाले एक फलफूल उत्पादन तथा प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न लागेको बताएकी छिन्, तर त्यो उद्योग कहिले स्थापना हुन्छ भन्नेमा कसैले कुनै भेउ पाउन सकेको छैन । उनले सधैं औद्योगिक वातावरण नभएको, लोडसेडिङ रहेको जस्ता तर्क गरेर काम गरेकी थिइनन्, तर लोडसेडिङ अन्त्य भएको दुई वर्ष पूरा हुन लाग्दा समेत मुरारका र राणा गफ दिनमात्र सफल भएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको पनि देखिने कुनै उद्योग छैन । उनले राजनीतिक स्थिरता नभएको, लोडसेडिङ चरम रहेको जस्ता तर्क गरेर काम नगर्ने गरेका थिए । नेपालका उद्योगी व्यवसायीले भन्दै आएको औद्योगिक वातावरण पछिल्लो दिनमा बनेको छ । धेरैले लगानीका लागि काम गरिरहेको, प्रक्रिया अगाडि बढाइरहेको तथा यस्तै धेरै भनेको लामो समय भयो, तर काम भने हुन सकेको छैन । निजी क्षेत्र गफाडीको अखडा बनेको छ ।
नेपालको निजी क्षेत्रको क्षमता गफ लगाउनेभन्दा अरु केही छैन भने पनि हुन्छ । निर्माण व्यवसाय गर्नेहरु कसरी राज्यलाई ठगौं र काम नगरौं भन्ने मान्यतामा छन् । राप्रपाका नेता समेत रहेका विक्रम पाण्डे त्यसका खास उदाहरण हुन् । उनको कालिका कन्स्ट्रक्सनले हालसम्म कुनैपनि आयोजना समयमा पूरा गरेको छैन । यस्तै काँग्रेसबाट सांसद बनेका हरिनारायण रौनियारको अवस्था पनि पाण्डेको भन्दा फरक छैन । उनको पप्पू कन्स्ट्रक्सनले कुनै पनि आयोजना समयमा सम्पन्न गरेको छैन । दर्जनौ आयोजना लिने र काम नगर्ने प्रवृत्ति उनीहरुको रहेको छ ।
काँग्रेसका नेता रहेका रसुवाका मोहन आचार्य पनि कामचोरमध्येका एक हुन् । दर्जनौं आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने र सधैं राज्यलाई नै दोष दिएर उम्कने उनको विशेषता नै रहेको छ । राज्यलाई कसरी चुस्ने, राज्यबाट कसरी तर मार्ने र आफ्नो दुनो सोझाउनेभन्दा अरु कुनै पनि क्षमता नेपालको निजी क्षेत्रमा देखिएको छैन । उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थामा पनि यस्तो रोग देखिएको छ । उनीहरुको कुनै पनि प्रकारको भूमिका मुलुकको समृद्धि र विकासमा देखिएको छैन ।
राजनीतिक आडमा काम नै नगर्ने प्रवृत्ति मौलाएको छ । अमूक पार्टीको आडमा राज्यलाई ठगी गर्न ठेकेदार तथा व्यवसायी नै क्रियाशील भएका छन् । उनीहरुले आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति पनि हाबी छ । चालु आर्थिक वर्षका विकास बजेट खर्च नहुनेको पछाडि सरकारी संयन्त्र त दोषी छँदैछ, त्योभन्दा बढी दोषी ठेकेदार तथा निजी क्षेत्र देखिएको छ । निर्माण व्यवसायीले कुनै पनि काम समयमा पूरा गरेका छैनन् । काठमाडौँ उपत्यकाको विकास निर्माणका काम होस् वा उपत्यका बाहिरका, उनीहरु सरकारी निकायले यस्तो सुविधा दिएन, वातावरण बनाइदिएन तथा कुनै पनि नियमति सहयोग गरेन भन्दै आफू पानीमाथिको ओभानो बन्ने र अरुलाई दोष देखाएर उम्कने गरेका छन् ।
उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी बताउनेको देखिने खालका कुनै पनि उत्पादमूलक उद्योग छैनन । उनीहरु विदेशबाट आयात गरिएका सामान बेचेर त्यसैमा कसिमन खाएर बस्ने मात्रै गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको देउराली जनता नामक औषधि उद्योग छ । त्योबाहेक देखिने र नाम चलेका भनिएका उद्योगी व्यवसायीले गफकै भरमा राजनीति गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस