ठगी धन्दा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठगी धन्दा : कामदारको बीमा पोलिसी नै नक्कली

आइतबार, १७ असार २०७५, १६ : ३७
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठगी धन्दा : कामदारको बीमा पोलिसी नै नक्कली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठगी धन्दा पर्दाफास भएको छ । विदेश जाने कामदारको बीमा पोलिसी नै नक्कली भेटिएपछि ठगी धन्दाको पर्दाफास भएको हो ।
बैदेशिक रोजगारीका लागि कतार गएका सात जना कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट नक्कली बीमा पोलिसी जारी भएको पाइएको छ । ६ फेब्रुअरी २०१६ मा जारी भएको पोलिसी खरिद गर्ने कामदारमध्ये बिरामी भएका एक जनाले कम्पनीमा दाबी गरेपछि त्यो बीमा पोलिसी नै नक्कली भएको तथ्य फेला परेको हो । कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको जानकारीमा आएपछि इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी दिएको छ । उजुरीकै आधारमा समितिले यस विषयमा श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्राचार गरेको बीमा समितिकी प्रवक्ता पूजन ढुंगेलले बताइन् ।
रोलेक्स मेनपावर कम्पनीबाट विदेशिएका कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट ७० लाख रुपैयाँ बराबरको नक्कली बीमालेख जारी भएको भेटिएको छ । कतार गएका कामदारबाट नक्कली बीमा शुल्कबापत २५ हजार ९ सय २८ रुपैयाँ संकलन गरिएको छ । कम्पनीको नामबाट जारी भएको उक्त पोलिसी दोहोरो जारी भएको पनि भेटिएको हो । कम्पनीले सोही पोलिसी न्यू जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीमार्फत पहिले नै जारी गरिसकेको बताएको छ । रोलेक्स ह्युमन रिसोर्स कम्पनीमार्फत विदेश गएका कामदारको नाममा पनि सोही नम्बरको पोलिसी जारी भएको छ ।
रोलेक्स ह्युमन रिसोर्स मेनपावर कम्पनीले अभिकर्ता कोड नम्बर १०६३११११ प्रयोग गरी रामसागर महरा, लक्ष्मण ठाकुर, उपेन्द्रकुमार ठाकुर, शिव जोगी, रामपुकार राउत, रमेशकुमार बराही र मोहम्मद रोजाबा ढोबीको नाममा वैदेशिक बिमा योजना जारी गरेको छ । न्यू जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीले सोही कोड नम्बरबाट नाफिज एहमद मिया, इर्साद अन्सारी, फैजुल्ला मिया, दीपेशकुमार यादव, दीपेन्द्रकुमार शर्मा, अजित खवास, रामबाबु ठाकुर बडाही नाममा बिमालेख जारी गरेको छ ।
वैदेशिक रोजगारमा गएका कामदार असुरक्षित बन्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि बीमा अनिवार्य गरेको छ । बजारमा नक्कली पोलिसी जारी हुने गरेको विषयमा सरोकारवाला निकाय सबै जानकार छन्, तर कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कुनै पनि निकाय संवेदनशील भएको देखिँदैन ।

यो पनि पढ्नुहोस्

बीमितले बुझाउने प्रिमियम रकम सञ्चालकको खातामा

प्रतिक्रिया दिनुहोस