सांसदले गराए डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १७ : २६
सांसदले गराए डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्य मीना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताइन् । उनले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य मैनाकुमारी भण्डारीले नेपाली पुरुषसँग विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिने प्रावधान गलत भएको बताइन् । उनले सो प्रावधान लागू भएमा दश वर्षपछि नेपाली वंशज अल्पमतमा पर्ने र आफ्नै देशमा शरणार्थी हुने अवस्था आउने दाबी गरिन् ।

प्रतिनिधिसभा सदस्य रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घरघरमा पैसा भएको भन्दै सम्पत्ति शुद्धीकरण गरेर धेरै भएको सम्पत्ति राज्यको कोषमा जम्मा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य, शिक्षा र वृद्धको जिम्मेवारी राज्यले लिनुपर्ने बताइन् । सांसद शाहीले आगामी ४ मंसिरमा हुने चुनावमा उम्मेदवारको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताइन् ।

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा नेपाल विद्यार्थी संघले जायज माग उठाएको बताए । उनले त्रिविबाट प्रश्नपत्र बाहिरिने तथा दोहोरिने जस्ता समस्या हुने गरेको भन्दै यस सम्बन्धमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नेविसंघको माग रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार– पाँचथरको रविराके १०१ किलोमिटर सडकखण्ड निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै छिटो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले शून्य समयमा बोलेका कुराको सम्बोधन नभएको भन्दै शून्य समयको औचित्य नरहेको बताए । उनले आफूले बोलेका कुरा पनि सम्बोधन नभएकाले आगामी दिनमा आफू शून्य समयमा नबोल्ने जानकारी गराए ।

प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले आतंकवादी हत्याराहरु, मानव तस्कर र सीमा अतिक्रमण रोक्न नेपाल– भारत सीमामा काँडेतार लगाउन माग गरिन् । उनले नेपाल–भारत सिमामा काँडेतार लगाउन ४२ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै त्यति जुटाउन ठूलो कुरा नभएको तर्क गरिन् ।

प्रतिक्रिया दिनुहोस