नागरिकता विधेयक हुबहु पारित गर्नु राष्ट्रपतिको अपमान हो : वामेदव गौतम

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १६ : ५७
नागरिकता विधेयक हुबहु पारित गर्नु राष्ट्रपतिको अपमान हो : वामेदव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पदप्रतिको अपमान हुने बताएका हुन् । 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठीक नभएको बताए । उनले सुझाव ग्रहण गर्न योग्य रहेको बताए । गौतमले यस विधेयकको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने बताए ।उनले भने – ‘मैले त यसलाई पास गर्नुपर्छ । फर्काउनुपर्छ । जस्ताको त्यस्तै पठाउनुपर्छ । भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ । तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो । र त्यो राष्ट्रपति पदको अपमान हो ।' 

उनले अगाडि थपे, 'राष्ट्रिय सभाले कम्तिमा ती हरेक बुँदाहरुमा आज तपाईं जे गर्दै हुनुहुन्छ त्यही निष्कर्ष निकाल्नुहुन्थ्यो हामी थियौँ नि वहस गर्ने विधेयक सम्बन्धमा । किन बोलाइएन हामीलाई ? ती अत्यन्त ग्रहणीय छन् कतिपय विषयहरू । शिक्षा लिने किसिमका छन् । जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ ।’

उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै, राष्ट्रियसभामा पठाएकोप्रति असन्तुष्टि जनाए । यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस