ज्ञानेन्द्रको अर्धशतक, केन्यालाई बलियो लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १८ : १५
ज्ञानेन्द्रको अर्धशतक, केन्यालाई बलियो लक्ष्य

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । 

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । उनलाई ओपनिङमा अर्का ओपनर तथा विकेटकिपर अर्जुन साउदले राम्रो साथ दिए । साउदले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । मल्ल र साउदले ६५ रनको साझेदारी गरेका थिए । 

यस्तै रोहित पौडेलले विस्फोटक ब्याटिङ गरे । उनले २५ बलमा ७ चौकाको मद्धतमा ४७ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ भने १ रनमै आउट भए । आदिल अन्सारीले ४ र विवेक यादवले २ रन जोडे । करन केसी र साेमपाल कामी शून्य रनमै अविजित रहे । 

केन्याका लागि कप्तान शेम न्गोचे, व्राज पटेल र नेहेम्याह ओधियाम्बोले समान दुई-दुई विकेट लिए । लुकास ओलुओचको नाममा एक-एक विकेट रह्यो । नेपाल र केन्याले दुई-दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

प्रतिक्रिया दिनुहोस