कोहलपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउन थाल्यो

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, ०९ : ४९
कोहलपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउन थाल्यो

बाँके । कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ ।  सोमबार बिहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो । 

कोहलपुर नगर विकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडक पेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अवैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।
 
उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न  पुनस् तीन दिने सूचना जारी गरिएको थियो । नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भए पनि कोहलपुर नगरपालिका भित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस