नेपालको दोस्रो जित

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १९ : ४६
नेपालको दोस्रो जित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । जितसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी शून्य रनमा अविजित रहे ।केन्याका भिराज पटेल र युगिनी ओचिङले २-२ विकेट लिए ।  इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १-१ विकेट लिए ।

त्यसअघि जिमखाना क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

केन्याका रकिप पटेल ७३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिमले ५५ रन जोडे ।नेपालका लागि सोमपाल कामी र आदिन अन्सारीले समान एक-एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस