जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखि सुरु गर्ने

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १६ : ३२
जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखि सुरु गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसले आगामी चुनावलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि सुरु गर्ने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले पहिलो चरणको अभियान भदौ १० गतेदेखि २४ गतेसम्म १५ दिन सञ्चालन हुने जानकारी दिए। साथै उनले आगामी चुनावका लागि तीन चरणको अभियान सञ्चालन गर्ने बताए। 
पहिलो चरणको भदौ १० गतेदेखि २४ गतेसम्म, दोस्रो चरणको समानुपातिक उम्मेदवारी दर्तापछि र निर्णायक तथा अन्तिम चरणको अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सञ्चालन हुने प्रवक्ता महतले जानकारी दिए। 

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भइ मतदानको अभिकार प्रयोग गर्न मतदातालाई अभियानका क्रममा अपिल गरिनेछ। यस्तै, जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनताले सुनाउन चाहेको गुनासो सुन्ने, जनताको भावना अनुसार रुपान्तरण र विकास परियोजनाबारे जनतासँग छलफल गर्ने कार्यक्रम रहेको महतले बताए। यस्तै पहिलो चरणकै अभियान अन्तर्गत कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहोल बनाउने कार्यक्रम रहेको छ। साथै निर्वाचनमा तालेमल गरेर जानुपरेको विषय, पार्टी र जनतासामु प्रकाश पारिने प्रवक्ता महतले बताए।

अभियानका क्रममा जिल्ला, क्षेत्र तथा स्थानीय तहमा प्रतिनिधिहरु खटाइनेछ। जसमा ७७ वटै जिल्लाका नेता कार्यकर्ताका साथै क्षेत्रीय र केन्द्रीय स्तरका नेताहरु रहनेछन्। उनीहरुको भूमिका र जिम्मेवारीबारे आन्तरिक सर्कुलर गरिसकेको नेता महतले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस