काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिएका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ। अहिले तालमेल बनेको छ। तालमेलको विषयमा दलमा दुई मत थियो। हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ। त्याे कुरा ०७४ मै देखियो। सिटको बाँडफाँड गरेर मात्रै हुँदैन। न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ।’
चुनावपछि पनि यही गठबन्धन कायम रहन्छ भन्ने सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ। गठबन्धनमा बसेर त्यहीभित्रका दललाई राष्ट्रघाती भन्दै हिँड्नेले अलग बाटो रोज्नुपर्ने समेत बताए।
‘यसअघिको नतिजा हेर्दा चुनावपछिको तालमेल हामीले जोसँग पनि तालमेल गरेर तालमेल गरेका छौँ। चुनावपछि फेरि अर्को बाटोमा हिँड्यौँ भने त्यसको आधार के हो? हामीले ०७४ मा एमाले र माओवादी जस्तो भयो भने के गर्ने?’‚ उनले भने, ‘तालमेल गरेर एकैठाउँमा बसेको छ तर हरेक विषयमा फरक कुरा गरेको छ। गठबन्धनमा न्यूनतम कुरा पनि मिल्दैन भने त्यसको अर्थ हुँदैन।’
पार्टीको संगठन र स्थानीय तहको चुनावलाई हेरेर मात्रै भागबण्डा गर्नुपर्ने बताए।
उनले चेतावनी दिँदै भने, ‘कांग्रेसलाई यही वेला पेल्न सकिन्छ भनेर सोचियो र हाम्रो मतदाताको मनोभाव बुझिएन भने परिणाम नराम्रो नआउनसक्छ। तलको अवस्था नहेर ०७४ को निर्वाचनको आधारमा गयौँ भने पार्टीभित्र ठूलो असन्तुष्टि आउनसक्छ। कुनै अमुक पार्टीको २ हजार भोट छ‚ कांग्रेसको २० हजार भोट छ भने यस्तो अवस्थामा गठबन्धनको दलहरुले बुझ्नुपर्छ। २ हजारमा २० हजार थपेर २२ हजार हुँदैन।’
कम्युनिष्ट पार्टीकै कारणले अहिले जनतामा ठूलो निराशा पैदा भएको बताए।
‘हामीले ठूलो पार्टी बन्दै गर्दा जनतामा देखिएको निराशा अन्त्य गर्नसकेका छैनौँ। ०७४ का कम्युनिष्टको स्थिर सरकार आएपछि पनि कुनै परिवर्तन नआएपछि ठूलो निराशा बढेको छ। हामी पहिलो दल बनेका छौँ। संसद् र प्रदेशमा सरकार छ। हामी कसैलाई प्रश्न गर्न मिल्दैन’‚ उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १२ : ५८
लेखकबाट थप