एमालेले कस्तो ल्याउँदै छ चुनावी घोषणापत्र ? यस्तो छ योगेश भट्टराईको जवाफ

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १६ : १५
एमालेले कस्तो ल्याउँदै छ चुनावी घोषणापत्र ? यस्तो छ योगेश भट्टराईको जवाफ

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणापत्र निर्माण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर सो घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए । उनले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए । 

‘हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीका हिसाबले होइन, एउटा राजनीतिक दलका हिसाबले भोलि गर्न सकिने मुद्दामा केन्द्रित हुँदै व्यावहारिक मुद्दामा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणापत्र हामी बनाउनेछौँ । विषय विज्ञहरूसँग आवश्यक छलफल गरेर घोषणापत्र तयार गरिनेछ,’ उनले भने ।

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनका लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञलाई आग्रह गरे । 

एमालेले पार्टीका सबै विभागलाई यही १५ भदौभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस