जसपाले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १४ : ०७
जसपाले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव

काठमाडौँ ।  जनता समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव गरेको छ। जसपाको राजनीतिक समिति बैठकको प्रस्तावमा अध्यक्ष उपेन्द्र यादवले मापदण्ड र योग्यता प्रस्ताव गरेका हुन्।उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ। अर्को मापदण्डमा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्क्योल गरिने बताइएको छ।

यस्तै ,उम्मेदवार बन्न पाँचवटा योग्यता तय गरिएका छन्। योग्यता यसप्रकार छन् :
१) पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने।
२) पार्टीको समितिमा संगठित र सक्रिय रहेको।
३) पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने। 
४) स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको।
५ निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको। 
६) सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको। 
७) सुशासनको प्रत्याभूत गर्नसक्ने।

यसैगरी, उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटका लागि  सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मदवारहरूका नामावली आ-आफनो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ।  

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारहरुको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ। 

प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावलीउपर छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा भदौ २० गतेभित्र सिफारिस गरी पठाउन भनिएको छ। संसदीय बोर्डले प्रस्तावित भइआएका उम्मेदवारहरुको सम्बन्धमा आवश्यक छानबिन गरी भदौ २५ गतेभित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउने प्रस्ताव छ।उम्मेदवारहरुको नामावली सिफारिस गर्दा महिला उम्मेदवारहरुलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुर्‍याउने भनिएको छ।

प्रतिक्रिया दिनुहोस