८ ट्रक सुपारी प्रकरण : उच्च अदालत दिएन अन्तरिम आदेश

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १३ : १४
८ ट्रक सुपारी प्रकरण : उच्च अदालत दिएन अन्तरिम आदेश

काठमाडौँ । मोरङ प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको ८ ट्रक सुपारीका विषयमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले बिहीबार निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

यो आदेशसँगै राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बरामद ८ ट्रक सुपारीको विषयमा अनुसन्धान गर्ने बाटो खुलेको छ । विदेशबाट आयात भएको सुपारीलाई नेपाली उत्पादन भन्दै भारत लैजान लागेको आशंकामा प्रहरीले गत साउन ८ गते  विराटनगरबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाए पनि सो विषयमा अनुसन्धान अघि बढ्न सकेको थिएन । तर, अदालतको यस्तो आदेशसँगै राजस्व अनुसन्धान कार्यालय इटहरी परिसरमै राखिएको ८ ट्रक सुपारीको विषयमा अनुसन्धान गर्ने बाटो खुलेको हो ।

सुपारीका निर्यातकर्ता विराटनगरस्थित मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले एक हप्ता अगाडि उत्प्रेषण परमादेश प्रतिषेध माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस