प्रचण्डको कार्यव्यवस्तताले पदाधिकारीको टुंगो लागेनः महरा

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १२ : ०२
प्रचण्डको कार्यव्यवस्तताले पदाधिकारीको टुंगो लागेनः महरा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बैठक छोट्याइएको उनले बताए । 

शुक्रवार बिहान पदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको थियो । तर, बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । शनिवार फेरि स्थायी कमिटी बैठक बोलाइएको छ । सोही बैठकले पदाधिकारीको टुंगो लगाउने महराले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ । भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ । पदाधिकारीका विषयमा पनि करिव–करिव टुंगिएको स्थिति छ । अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलिसम्मका लागि सरेको हो ।’

माओवादी केन्द्रको गएको पुसमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र पदाधिकारीमा निर्वाचित भएका थिए । महाधिवेशन सम्पन्न भएको लामो समयसम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । एउटै पदमा धेरै नेताहरूको आकांक्षा देखिएकाले अध्यक्ष प्रचण्ड पदाधिकारी चयनको विषयलाई लिएर दबाबमा देखिएका छन् । 

विशेष गरेर अध्यक्षपछिको शक्तिशाली पद महासचिव कसलाई बनाउने भन्ने बारेमा प्रचण्ड दबाबमा परेको बताइन्छ । महासचिव पदमा मुख्य गरेर उनका विश्वासपात्रहरू वर्षमान पुन र जनार्दन शर्माले तीव्र आकांक्षा देखाएका थिए । तर, पछिल्लो समय प्रचण्ड दुवैजनालाई छाडेर देवप्रसाद गुरुङलाई महासचिव बनाउने तयारीमा रहेको स्रोतको दाबी छ । अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगत्तै पार्टीको विशेष महाधिवेशनमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस