काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ र पूजा शर्मा अभिनीत फिल्मलाई लिएर निर्माण पक्ष आशावादी छन्।
दर्शकले रुचाएको जोडीको रूपमा चिनिएको आकाश र पूजा अभिनीत फिल्म ‘सम्झना बिर्सना’ लाई निमेष प्रधानले निर्देशन गरेका हुन् । उनकै लेख्न रहेको फिल्ममा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्ममा आकाश र पूजासँगै सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय रहेको छ । फिल्म आकाश , पूजा र छुल्ठिमको वरपर घुमेको छ ।
अर्को नेपाली फिल्म ‘सिल्ली फो’ मा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । यसमा केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् । केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका फिल्ममा निर्वाह गरेको बताएकी छिन् । राज बहादुर साने फिल्मका निर्देशक हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १२ : ४४
लेखकबाट थप