काठमाडौँ । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ। पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो।गरपालिकाका ११ वडाकै स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्यचौकीको तथ्यांकअनुसार नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले बिसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेला दुवै मात्रालगायत १२ किसिमका खोप पाएको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ।
बाँकी चार प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेपनि उनीहरुले पनि सबै खोप लगाइसकेको उनले बताए। २०७८ वैशाखदेखि २०७९ वैशाखसम्म ५११ बालबालिका जन्मिएकामा ४९१ बालिबालिकाले विभिन्न वडाको स्वास्थ्यचौकीबाट तथा बाँकी २० बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्यचौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको छ।
नगर प्रमुख विमला राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरे। २०७४ देखि नै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका लागि परेको र पूर्ण खोप सुनिश्चित नगर बनाइएको नगर प्रमुख राईले बताइन्। आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्यलाई अझ प्राथमिकतामा राखेको छ।
नगरपालिकाभित्र बर्थिङ सेन्टर (प्रसूतिगृह) सहितको ११ वटै वडामा स्वास्थ्यचौकी र चार सहरी स्वास्थ्यचौकी सञ्चालनमा छन्। दुई सहरी स्वास्थ्यचौकीलाई सञ्चालनमा ल्याउन तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, ११ : ५५
लेखकबाट थप