काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन्।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन्।कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे। उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन्। श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे।
यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए।
निर्वाचित अध्यक्ष पेमाले खेलाडीको मागअनुसार नै आफू भारी मतले विजयी भएको प्रतिक्रिया दिइन्। ‘खेलाडीको चाहनाअनुसार नै आएको छ। सबैलाई बधाई दिन चाहन्छु, पेमाले भनिन्।यससँगै एन्फाअन्तर्गत चार संघको निर्वाचन पूरा भएको छ। खेलाडी संघमा विक्रम लामा, प्रशिक्षक संघमा राजेन्द्र तामाङ र रेफ्री संघमा बुद्धि गुरुङ सर्वसम्मत अध्यक्ष चुनिए।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ बैशाख २०७९, १६ : ३९
लेखकबाट थप