बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १५ : १३
बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा

चितवन । केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रड्सलाई टाईब्रेकरमा पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । 

बिएफसीले टाईब्रेकरमा रामपुरलाई ५-३ ले पराजित गर्‍यो । टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे । रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका आदित्य गुरुङले बचाए । 

त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १-१ गोल भएको थियो । पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन । ३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए। 

दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर खेर फाले । खेलको अन्त्य तिर प्राप्त केही अवसरमा दुबै टिम गोल गर्न चुके । खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए । 

बिएफसीले उपाधिका लागि दोस्रो सेमिफाइनलको बिजेतासँह खेल्नेछ । दोस्रो सेमिफाइनल खेल केही बेरमा सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र सौराहा युवा समाजबीच हुनेछ । 

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस