काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको छ ।
प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरूसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री देउवा अब छिट्टै नै संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारीमा छन् ।
संवैधानिक व्यवस्थाअनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभामा २ सय ७५ सांसद रहने व्यवस्था छ । तर, अहिले चार सिट खाली छ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित यी चारै जना सांसद एमाले प्रवेश गरेपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा सांसद पद रिक्त हुन गएको हो ।
२०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनतर्फको साझा उम्मेदवार बनेर चारै जना सांसद निर्वाचित भएका थिए ।
रौतहट–३ बाट प्रभु साह, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी, कैलाली–३ बाट गौरीशंकर चौधरी र कैलाली–४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए ।
अब हुने उपनिर्वाचनबाट यी चारवटै क्षेत्रमा कुन दलका उम्मेदवार विजयी हुनेछन् ? यतिकै भन्न सक्ने अवस्था छैन । किनकि, अहिले वामगठबन्धन छैन, फुटेको छ । माओवादीबाट विजयी सांसद नै एमाले प्रवेश गरेकाले माओवादी यी चारै क्षेत्रमा कमजोर बनेको छ । गत निर्वाचनमा अत्यन्तै उत्साहजनक नतिजा ल्याएको एमाले समेत अहिले कमजोर अवस्थामा छ । एमाले फुटेर एकीकृत समाजवादी गठन भएकाले एमालेको साख पहिलाको जस्तो छैन ।
अर्को कुरा, वामगठबन्धन भत्केर अर्को गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा छन् । तर, माओवादीले जितेको यी चारै सिट माओवादीले नै पाउने कि गठबन्धनमा आबद्ध दलले भागबन्डा गर्ने स्पष्ट भइसकेको छैन ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले आगामी आमनिर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने भन्दै आएका छन् । तर, सत्ताको नेतृत्व गरेको दल कांग्रेसका केही प्रभावशाली नेताहरूले अगामी निर्वाचनमा गठबन्धन नहुने प्रस्ट संकेत गरिसकेका छन् । उनीहरूले गठबन्धन आमनिर्वाचनसम्म रहन्छ भन्ने कुरा बोल्नुभन्दा कांग्रेस एक्लै चुनावमा सहभागी हुने अभिव्यक्ति दिँदै आएका छन् ।
अहिलेको अवस्था विश्लेषण गर्दा वामगठन्धन फुटेकाले कांग्रेस बलियो अवस्थामा रहेको छ । त्यसैले कांग्रेसले निर्वाचनमा गठबन्धनको आश्यकता महसुस गरेको छैन ।
अब विश्लेषण गरौं उपनिर्वाचन हुने चार क्षेत्र’bout । रौतहट–३ बाट एमाले र माओवादी केन्द्रको वामगठबन्धनबाट प्रभु साह २०७४ सालको प्रतिनिधि सभा चुनावमा २७ हजार ७ सय ९९ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार यादवले १८ हजार २ सय ६ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर ९ हजार ५ सय ९३ थियो ।
यस्तै, तत्कालीन राजपा नेपालका ओमप्रकाश जैसवालले १४ हजार ६ सय ५८ मत ल्याएका थिए । त्यसबेला माओवादीबाट उठेर जितेका साह अहिले एमालेमा छन् । उनलाई एमालेले टिकट दिन्छ दिँदैन यकिन छैन । तैपनि उनी एमालेका बलियो दाबेदार हुन् । एमाले र माओवादीको मतबाट विजयी बनेका उनको अवस्था पहिलाको जस्तो छैन । ’cause, यहाँ एमाले कमजोर छ, उता माओवादीमाथि आफ्नो पुरानो वर्चस्व कायमै रहेको देखाउनुपर्ने चुनौती छ । उता, यो क्षेत्र नवगठित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला पनि हो । यसले पनि यो क्षेत्रको निर्वाचनलाई चासोपूर्वक हेरिनेछ ।
मधेसको जिल्ला भएकाले यहाँ मधेसवादी शक्तिले के गर्ने भन्ने विषयले समेत महत्व राख्छ । तर, तत्कालीन निर्वाचनमा यहाँ जसपाले राजपालाई समर्थन गरेको र अहिले दुई दल छुटाछुट्टै अस्तित्वमा रहेका छन् । जसपा पाँच दलीय गठबन्धनमा छ भने राजपा छैन । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला भएका कारण साहलाई विजयी प्राप्त गर्न सकस छ ।
उपनिर्वाचन भएको अवस्थामा रौतहट–३ मा कांग्रेसबाट सुनिल यादव, माओवादी केन्द्रबाट विन्देश्वर यादव (ए), एकीकृत समाजवादीबाट कमल यादव, जसपाबाट विन्देश्वर यादव (बी) र लोसपाबाट ओमप्रकाश जैसवाल उम्मेदवार हुने सम्भावना छ ।
२०७४ सालमा अर्घाखाँची–१ बाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । दुई उम्मेदवारबीच १८ हजार २ सय ९३ मतान्तर थियो ।
यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् । तर, एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ । माओवादीलाई भने यहाँ पनि आफ्नो वर्चस्व देखाउनुपर्ने चुनौती छ ।
अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र छ । यहाँ कांग्रेसबाट बीसीका साथै पुष्पा भुसाल, मुक्ति श्रेष्ठ, ढुण्डीराज शास्त्रीलगायतका नेता उम्मेदवारका आकांक्षी देखिन सक्छन् । पुष्पा अहिले कांग्रेसबाट समानुपातिक सांसदसमेत हुन् । तर, उनले सांसदबाट राजीनामा दिएर प्रत्यक्षतर्फको उम्मेदवार बन्न खोजेको चर्चा छ ।
यस्तै, यहाँबाट माओवादी केन्द्रका नेता लीलाराज आचार्य र एकीकृत समाजवादीबाट पीताम्बर भुसालसमेत उम्मेदवारका रूपमा चर्चामा रहेका छन् ।
कैलाली–४ मा वाम गठबन्धनका तर्फबाट तत्कालीन माओवादी नेता लेखराज भट्टले ३१ हजार ३ सय ५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनीलकुमार भण्डारीले २० हजार ९ सय ६० र स्वतन्त्र उम्मेदवार गीता क्षत्रीले ३ हजार १ सय ७३ मत ल्याएका थिए ।
यहाँ कांग्रेसका उम्मेदवारको तुलनामा भट्टले १० हजार ३ सय ९९ मत बढी ल्याएका थिए । फेरिएको राजनीतिक शक्ति सन्तुलनका कारण यो क्षेत्रका नेता भट्टले अघिल्लो चुनावमा पाएको मत बाँडिने निश्चित छ । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई कैलालीका एमालेका मतदाताले सहज रूपमा स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने प्रश्न पनि छ । अर्कोतर्फ, पार्टी फुटेपछि सुदूरपश्चिममा एमालेको हालत खराब रहेको छ । भट्टलाई फेरि जित सुनिश्चित गर्न यो क्षेत्रमा चुनौती देखिन्छ ।
तर, माओवादीले पनि कांग्रेसको साथ नपाउने हो भने पुरानो जीतलाई जोगाउन मुस्किल पर्ने देखिन्छ । एमाले उपाध्यक्ष भीम रावल सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी नपाएर आन्तरिक संघर्षमा छन् । यस्तो अवस्थामा सुदूरमा एमाले विभाजित अवस्थामै रहनेछ । गठबन्धनको मत त त्यसै पनि एमालेको भन्दा धेरै नै हुन्छ ।
कैलाली–४ मा कांग्रेसबाट सुनील भण्डारी वा दीर्घराज भाटमध्ये एकले टिकट पाउने सम्भावना रहेको छ । भाटलाई लेखराज पराजित गर्न सक्ने उम्मेदवारको रूपमा हेर्ने गरिएको छ । यस्तै, एकीकृत समाजवादीले यो क्षेत्र पाएको अवस्थामा दीर्घबहादुर सोडारी उम्मेदवार बन्ने सम्भावना रहेको छ । यस क्षेत्रमा माओवादी उम्मेदवार’खासै चर्चा छैन ।
कैलाली–३ बाट २०७४ सालको चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनका उम्मेदवार बनेका माओवादी नेता गौरीशंकर चौधरीले २४ हजार ८ सय ७९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४ सय ९४ मत पाएका थिए । यस्तै, राजपाले ४ हजार ४४ मत र नेकपा मालेले ३ हजार २ सय ५५ मत पाएका थिए ।
यहाँ गौरीशंकर र रामजनम चौधरीको मतान्तर ४ हजार ३ सय ८५ रहेको थियो । तत्कालीन अवस्थामा बलियो रहेका एमाले र माओवादीको संयुक्त मतभन्दा ४ हजार मतले कांग्रेस पछाडि देखिएको थियो । यो क्षेत्रमा बिनागठबन्धन उम्मेदवार उठ्ने हो भने कांग्रेसले जित निकाल्ने स्पष्ट देखिन्छ । तर, माओवादीलाई यहाँ पनि पुरानो जित जोगाउनुपर्ने चुनौती छ ।
कैलाली–३ मा उपनिर्वाचनका लागि कांग्रेसबाट रामजनम चौधरी, माओवादी केन्द्रबाट वीरभान चौधरी र एकीकृत समाजवादीबाट अमर साउद उम्मेदवार हुने चर्चा छ । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ कार्तिक २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचुनाव हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
कुन दलले कति ठाउँमा दिए उम्मेदवारी, को-को उम्मेदवार ? (नामावलीसहित)
उपनिर्वाचन : कर्णालीमा आठ पदमा ४४ जनाको उम्मेदवारी