दबाबमा थपिए एमाले महाधिवेशन प्रतिनिधि

पत्रपत्रिकाबाट

शनिबार, १३ कार्तिक २०७८, ०७ : ४९
दबाबमा थपिए एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर १ हजार ९ सय ९९ बनाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या चार सय थपेको हो। बिहीबार बसेको स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय भएको थियो। 

केन्द्रीय कमिटीमा संख्या बढाउनुपर्ने सुझाव आएपछि संख्या बढाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनले भूगोलमा संख्या बढ्ने बताए। भूगोलमा १ हजार १ सय ९६ संख्या तोकिएको छ। ‘स्थायी समिति १५ सयको हाराहारीमा प्रस्ताव गरेको थियो, केन्द्रीय सदस्यबाट बढाउन सुझाव आयो, सुझावको आधारमा थपिएको हो।’ विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधि थिए।

विधान अधिवेशनमा भन्दा धेरै घटाएको भन्दै बढाउन दबाब बढेको थियो। ‘दुई हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ,’ केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले भने, ‘हाम्रो सुझावकै आधारमा प्रतिनिधि संख्या बढाइएको हो।’ 

बैठकले समावेशिताको आधारमा प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमको उल्लेख्य प्रतिनिधि गराइने भएको छ। एमालेको प्रतिनिधि छनोट कात्तिक २७ मा एकै दिन हुने भएको छ। केन्द्रीय समितिको बैठकले एकै दिन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए। एमालेले गत कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिकाको एकैदिन अधिवेशन गरेको थियो। केन्द्रीय कमिटीको बैठकमा विद्युतीय मेसिनको परीक्षण गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। बाँकी वडा र पालिकाको छिट्टै अधिवेशन सक्न निर्देशन गरिएको उनले बताए। 

यसैबीच, एमालेको १०औं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ  थपिएका छन्। केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्य पन्त र केन्द्रीय कार्यालय सचिव तामाङलाई थपेर मूल व्यवस्थापन समितिको संख्या २१ बाट बढाएर २३ पुर्‍याएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस