काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् ।
राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको सुनाए ।
सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, “अर्काे पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।”
गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।
नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई रु पाँच लाख र टिम व्यवस्थापकलाई रु तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिए । “यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले थपे ।
उनले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बतउनुभयो । मन्त्री खाँणले हरेक प्रहरी अधिकृत र जवानको पेट पनि खेलाडीको जस्तै बनाउन भनेको र यसअघि आफू रक्षामन्त्री हुँदा सेनालाई पनि त्यही अभ्यास गराएको जानकारी दिए ।
फरक प्रसङ्ग जोड्दै गृहमन्त्री खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको बताएयो । उनले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिए । उहाँले जातीय विभेदविरुद्ध कडाइका साथ कानून कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गरे ।
समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शङ्कर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताए ।
नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले कांग्रेसले खेलकूद मन्त्रालय पायो भने सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० कार्तिक २०७८, २० : ०१
लेखकबाट थप