चितवनका सबै वडामा एकसाथ अधिवेशन गर्ने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १७ : २१
चितवनका सबै वडामा एकसाथ अधिवेशन गर्ने कांग्रेसको निर्णय

चितवन । चितवन कांग्रेसले भदौ २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्यसमितिको बैठकले चितवनका ९८ वटै वडामा एकसाथ अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार चितवनमा २७ हजार ७ सय ९२ जना क्रियाशील सदस्य छन् । नवीकरण गरेका केही सदस्यको संख्या थप हुनेछ ।

बैठकले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साविक ४ नम्बर क्षेत्रमा केन्द्रीय पार्टी सभापति विरुद बागी उम्मेदवारी दिएका पूर्व जिल्ला सभापति विकास कोइरालामाथि लगाइएको अनुशासन कारवाही फुकुवा गर्न केन्द्रमा फेरि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

पार्टीले साधरण सदस्य समेत नरहने गरी कोइरालालाई कारवाही गरेको थियो । कारवाही फुकुवा नभएकाले उनको क्रियाशील सदस्यतासमेत नवीकरण हुन सकेको छैन ।

आजै तरुण दल चितवनको अगुवाइमा कारवाही फुकुवाको माग गर्दै जिल्ला पार्टी कार्यालय अगाडि प्रर्दशन समेत भएको थियो । २०७० कात्तिक २ गते जिल्लाको सिफारिसमा कोइराला कारवाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस