काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।
सेनालाई विजय तुल्याउन नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले खेलको २८ औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी रहन पुग्यो । सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो ।
खेलको ५० औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको ८३ औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।
एशियन फुटबल कन्फेडेरेसन ९एएफसी० को कार्यक्रमअनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप–२०२१ भएको हो । दर्शकको बाक्लो उपस्थिति रहेको उक्त खेलले विभागीय टोलीका रूपमा रहेको सेनाको खेलकुद क्षेत्रको च्याम्पियनको छविलाई थप उजागर गरेको छ । नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २६ चैत्र २०७७, ०८ : ५०
लेखकबाट थप