काठमाडौं । म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो । यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि देशको प्राकृतिक प्रकोपको कानून मिचेको आरोप लागेको छ । बुधबार लगाइएको नयाँ आरोप ठ्याक्कै के हो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
म्यानमारमा विरोध प्रदर्शन चर्किरहेका बीच त्यहाँको सेनाले नयाँ चुनाव आयोजना गर्ने र सत्ता हस्तान्तरण गर्ने आफ्नो बाचा दोहोराएको छ । कूको विरोधमा प्रदर्शन गरिरहेकाहरुले आङ सान सूचीलगायत आफूले चयन गरेका नेताहरुको तत्काल रिहाई गर्न माग गरेका छन् । सैन्य कू गरेपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता ब्रिग ज मीन तुनले सेना लामो समयसम्म सत्तामा नरहने स्पष्ट पार्दै योजनाबद्ध रुपमा गरिएको निर्वाचनमा जुन पार्टी विजय हुन्छ, उनीहरुलाई सत्ता हस्तान्तरण गरिने जानकारी दिए । यद्यपि, उनले निर्वाचनको मिति भने तोकेनन् ।
मंगलबार आयोजित उक्त पत्रकार सम्मेलनमा मिन तुनले अघिल्लो वर्ष नोभेम्बरको चुनावमा धाँधली भएको कुरा कुनै प्रमाण नदिइकनै दोहोराए । आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) भारी मतसहित विजयी भएको थियो । सेनाले चुनावमा धोका भएका कारण नै आफूहरु सैन्य कू गर्न बाध्य भएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ फागुन २०७७, १० : ५५
लेखकबाट थप