चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १७ : २०
चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

चितवन । चाडबाडलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज (मंगलबार) बढी मानिसहरुको भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । यस कक्ष स्थापनाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले सहयोगी भूमिका निर्वाह गरेको छ ।

चाडबाडका बेला समस्यामा परेका यात्रु र व्यक्तिहरुलाई समयमै उद्धार र सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिनुभयो । उनले भने–‘दशैं तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौं, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौं ।’ उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिक रुपमा उद्घाटन गरेका थिए । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटन जस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिक रुपमै कार्यको शुभारम्भ भएको घोषणा गरेका थिए । सो क्रममा बोल्दै प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकोले सोही अनुरुप मनाउन आग्रह गरेका छन् । 

उनले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनुपर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे । उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए । उनले जुन उद्देश्यले सहायता कक्ष स्थापना गरिएको छ सो उद्देश्य पुरा गर्न सकियो भने बल्ल सफल हुने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटनाहरु हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले निर्देशन अनुरुप नै यातायात व्यवसायीहरुले व्यवसाय संचान गर्ने बताए । उनले चाडबाडका बेला बसहरुमा हुने विभिन्न घटना रोक्न महासंघ पनि तयारी अवस्थामा रहेको भन्दै सयायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चाडपर्व नजिकिदैं जाँदा सार्वजनिक सवारीहरूमा हुन सक्ने यात्रुहरुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्ने जस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग ट्राफिक प्रमुख भट्टले बताए । 

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, यातायात व्यवसायीका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस