प्रदेश ५ को बैठकमा कुर्ची हान्ने कोको हुन् ?

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १७ : २९
प्रदेश ५ को बैठकमा कुर्ची हान्ने कोको हुन् ?

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा कुर्ची हानाहान भएको छ । बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्ची हानेका हुन् । उनीहरुले टेबुल र माइकसमेत तोडफोड गरेका थिए । 

कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।

नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरे।

यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रेका हुन् । 

प्रतिक्रिया दिनुहोस