‘कोरोना भाइरसको संक्रमण भित्रन नदिन भारतिय सिमा नाका तर्फ किन उच्च सतर्कता अपनाईएन ?

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १० : ०६
‘कोरोना भाइरसको संक्रमण भित्रन नदिन भारतिय सिमा नाका तर्फ किन उच्च सतर्कता अपनाईएन ?

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेको नोबेल कोरोना भाइरस (कोभिड १९) ले रुपमा विश्वव्यापी समस्या निम्त्याई रहेको छ । चीनबाट शुरु भएको संक्रमण पछिल्लो समयमा यूरोप, मध्यपूर्व हुँदै अमेरिका पुगिसकेको छ भने नेपालसँग सिमा जोडिएका सबै देशमा देखा परेको छ । अझ खुला सिमाना रहेको भारतमा समेत यसको संक्रमण देखिएको छ । भारतमा दुईजनाको मृत्यु नै भइसकेकाले नेपाल संक्रमणको थप उच्च जोखिम परेको छ । 

नेपालमा आजसम्म संक्रमित व्यक्ति पहिचान भएको छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको रोग निको भइसकेको छ । तर खुला सिमाना रहेको भारतमा रोग देखिनु नेपालका लागि ठुलो जोखिम हो । सरकारले यो रोगको संक्रमण हुन नदिन सतर्कता अपनाए पनि सबै नाकामा हेल्थ डेस्क स्थापना गर्न सकेको छैन । दुई दिन अघि मात्रै भारतले धेरै नाकाहरु बन्द गरेकाले केही सहज भएपनि निश्चित नाका खुला गर्ने योजना दुबै देशको छ । 

त्यस नाकामा बलियो स्वास्थ्यकर्मीको टोली खडा गर्नु जरुरी छ । त्यतिमात्रै होइन खुला क्षेत्र रहेकाले जहाँबाट पनि मानिस छिर्न सक्नेतर्फ पनि सरकारको ध्यान जानु जरुरी हुन्छ । त्यसतर्फ सीमामा सुरक्षाकर्मीहरुलाई समेत परिचालन जरुरी छ । भारत, भुटानसहित दक्षिण एसियाली मुलुकमा यसको संक्रमण फैलदो अवस्थामा छ ।  नेपालमा चीनबाट भित्रने नाका प्राय चिसो हिमालले घेरिएको छ । आवतजावतको नाका समेत कम छ । जसका कारण तत्कालै त्यहाँबाट कोरोना संक्रमण हुने सम्भावना कम हुन सक्छ ।

तर दक्षिणतिर बढ्दै गएको संक्रमण रोक्ने त्यस्तो कुनै प्राकृतिक बार छैन् । खुला सिमानासँगै चर्को आवतजावतले कोरोना त्यतैबाट आउने सम्भावना प्रसस्त रहेको चिकित्सक औँल्याउँछन् । त्यसैले चीन भन्दा भारतबाट बढी खतरा छ ।  सरकारले कोराना भित्रन नदिनका लागि विभिन्न उपाय अपनाइरहेको छ ।

बिहिबार मात्रै सरकारले नेपालमा अन अराइभल भिसा बन्द गरेको छ भने अब विदेशबाट आउने व्यक्तिहरुलाई सेल्फ र होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिसकेको छ । शनिबार रातीबाट उक्त निर्णय लागु हुने छ । तर भारतको सीमा क्षेत्रको विषयमा अझै ठोस कदम देखिँदैन । भारतसँगको सहकार्यमा निश्चित नाका खोल्ने तयारी सरकारको छ । 

कोरोना कहरकै सम्बन्धमा संसदमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको विषयमा भएको छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि भारतबाट संक्रमण भित्रिन सक्ने जोखिम रहेको तर्फ ध्यानाकर्षण भएको जनाएका थिए । भारतसंग रोटी बेटीको सम्बन्ध भएकाले पनि जतिसुकै बेला जुनसुकै ठाउँबाट बिना रोकावट आवातजावत हुन्छ । खुला नाकामा सामान्य दैनिक गुजाराको खाद्यान्न नुन, तेल, चामल, मसला लिनेको तिब्र आवतजावत प्राय दिनभरी नै रहने गर्छ । नेपालमा चाहिने खाद्यान्न, औषधी कच्चा पदार्थ सहितका सामग्री बोकेका सामान र मानिसको आवतजावत पनि उत्तिकै बढी छ ।  

सुरुवातमा एकाधबाट सुरुहुँदै पछिल्लो समय भारतमा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म भारतमा ६ दर्जन बढी मानिसमा यसको संक्रमण देखिसकिएको छ । यसरी बढ्दो क्रममा रहेको संक्रमितको संख्याले नेपालमा असर पार्ने देखिन्छ । भारतमा संक्रमणको त्रास उत्पन्न भएको खण्डमा अवैद्य बसोबासको थुप्रो सिमानाकामा बढ्ने प्रष्टै देखिन्छ । यो सँगै संक्रमित भित्रिएको खण्डमा हालसम्म सुरक्षित रहेको ठानिएको नेपाल आक्रान्त पर्न सक्छ । हाल भैरहेको सुरक्षाका उपाय अपुरो रहेको राजनीतिक दलका नेताहरुले बताइसकेका छन् । दुई दिन अघि भएको सर्बदलीय बैठकमा समेत नेताहरुले संक्रमण रोक्नतर्फ अझै सरकारको तयारी अपुग भएको औँल्याएका थिए ।

आपत आइपरेको खण्डमा हालगुहार गर्नुभन्दा पहिल्यै सही उपाय अपनाउन सरकार तत्पर नदेखिएको गुनासो जनमानसमा बढ्न थालेको छ । एकीकृत कार्ययोजनाको खाँचो रहेको सांसदहरुले बताइरहेका छन । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समन्वय समितिले पछिले समयमा केही निर्णयहरु गर्नु सकारात्मक हो ।  उक्त निर्णय अनुसार रोग फैलिएको अबस्थामा एक्सनमा जान सक्ने गरी आजदेखि टिम तयार पार्ने र हरेक प्रदेशमा आईसोलेसन वार्ड र आईसियु बनाईने छ ।

त्यसको तयारी सरकारले शुरु गरिसकेको छ । सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलो पल्ट कोरोना भाइरस फेला परेको थियो । समुद्री माछाबाट मानिसमा सरेको आशंका गरिएपनि अझैसम्म के बाट संक्रमण भएको यकिन भएको छैन् । उक्त रोगका कारण विश्वमा झण्डै पाँच हजारले ज्यान गुमाइसकेका छन् । अहिले सरकारले १५५ आईसोलेसन बेड तयार गरेर आवश्यक तयारी गरेको छ । तर नेपालमा रोग भित्रियो भने नियन्त्रणको तयारी फितलो भएको सर्वसाधारणले गुनासो गरिरेका छन् ।

सर्वसाधारणहरु भने नेपालमा कोरोनाको संक्रमणबाट बच्न भगवान भरोसा बाहेक अन्य विकल्प नरहेको बताइरहेका छन् । रोग भित्रिनु अघि नै औषधी, मास्क, स्यानिटाइजेसनको अभाव हुनुले पनि फितलो तयारीको संकेत दिन्छ । ग्याँसको अभाव हुनु, खाद्यान्न आपूर्तिमा समस्या हुनुले पनि सर्वसाधारणहरु त्रसित छन् ।