अमेरिकास्थित राजदुतलाई सरकारले किन गरेन कारवाही ?

अमेरिकास्थित नेपाली राजदुत सरकारलाई जानकारी नै नदिई इन्डो प्यासेफिकको कार्यक्रममा सहभागी

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, ०९ : १६
अमेरिकास्थित राजदुतलाई सरकारले किन गरेन कारवाही ?

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अमेरिकाले अगाडि सारेको इन्डो प्यासेफिक रणनीतिका विषयमा सार्वजनिक रुपमा देखिंदा एउटा र नदेखिने गरी अर्काे व्यवहार हुन थालेपछि विवाद चुलिन थालेको छ ।

पश्चिमा शक्ति केन्द्रहरुको प्रभावमा प्रधानमन्त्री केपी ओली परेका छन् । उनले उत्तरी छिमेकी मुलुक चिनसँगको सम्बन्धलाई पनि चासो देखाएको भएपनि खासमा उनी अमेरिकाले अगाडि सारेको रणनीतिभित्र पनि सकारात्मक देखिन थालेपछि नेकपाभित्र यो विषयले हुन्डरी ल्याईदिन थालेको छ ।
अमेरिकी प्रोजेक्ट एमसिसि (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) जसरी पनि पारित गर्ने र त्यो पारित नगरेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरामाथी गम्भिर आरोप समेत लगाउन तयार देखिएका ओलीले बाहिर बोल्दा इन्डो प्यासेफिकमा नेपाल पक्षमा नरहेको बोलेपनि व्यवहारमा भने उनको ढल्काई त्यता तिर देखिन थालेको आशंका नेकपाभित्र छ ।
खासगरी अमेरिकाका लागि नेपाली राजदुत अजुर्नकुमार कार्कीले अमेरिकामा बसेर इन्डो प्यासेफिक रणनीतिका पक्षमा आफूलाई उभ्याउँदासम्म सरकारले उनीमाथि कुनै कडाई नगर्नुले ओलीको बोली र व्यवहार फरक देखिएको नेकपाभित्र चर्चा चल्न थालेको छ ।
नेकपाका एक सचिवालय सदस्यका अनुसार, एक महिना अगाडि मात्रै अमेरिकास्थित नेपाली राजदुत कार्की इन्डो प्यासेफिक रणनीतिका विषयमा आयोजित एक कार्यक्रममा सरकारलाई जानकारी समेत नदिई सहभागी भईसकेका छन् । तर यो कुरा प्रधानमन्त्री ओलीदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्मलाई जानकारी छ ।

उनलाई अहिलेसम्म पनि न प्रधानमन्त्रीले न परराष्ट्रमन्त्रीले यो विषयमा कुनै सोधखोज गरेका छन् । बरु उनलाई फुक्काफाल ढंगले त्यस्ता कार्यक्रममा जान छुट दिइरहेका छन् ।
बाहिर देशमा पठाएका राजदुत नेपाल सरकारको प्रतिनिधी हुन्छन्् । उनीहरुले त्यस देशमा नेपाल सरकारको आधिकारिक प्रतिनिधित्व गर्ने गर्छन । त्यहाँ रहँदा बोल्ने अभिव्यक्ति, सहभागी हुने कार्यक्रममा सरकारको आधिकारिकता हुन्छ । यस्तो बेला राजदुत कार्की इन्डो प्यासेफिक रणनीति अन्र्तगतको कार्यक्रममा सहभागी हुन्छन् भने त्यो सरकारको सहभागिता को अर्थ लाग्छ । तर पनि सरकारले उनीमाथि कुनै स्पष्टिकरण सम्म नसोधेपछि प्रधानमन्त्री त्यतैतिर ढल्किएको संकेत गरेको एक सचिवालय सदस्यले बताए ।
प्रधानमन्त्री ओलीले इन्डो प्यासेफिक रणनीतिको पक्षमा नेपाल नरहेको त बताइरहेका छन, तर उनको व्यवहार त्यो अनुसार नदेखिएको ती नेताको भनाइ छ ।  

उनले भने,– प्रधानमन्त्रीको निकटता कहीँ न कहीँ त्यतातिर ढल्किएको देखिन्छ, नत्र त्यस्तो गतिविधिमा संग्लन्न नेपालका प्रतिनिधीलाई किन उहाँले कारवाही गर्न सक्नुहुन्न ?’
राजदुत कार्की पार्टीका शीर्ष नेताहरुलाई रिझाउन सक्ने खुवी भएका राजदुत हुन् । उनको ओली, प्रचण्डदेखि शेरबहादुर देउवासँग उस्तै समदुरी सम्बन्ध बनाएका छन् ।

अझ प्रधानमन्त्री ओलीसँग अहिले उनको सम्बन्ध राम्रो देखिएको छ । त्यही भएर पनि उनलाई ओलीले छुट दिइरहेको ती नेताको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस