काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब पाँच खर्ब रुपैयाँका पुराना तथा झुत्रा नोट जलाएको छ ।
राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ ।
नोटको आयु कति ?
आर्थिक वर्ष २०७०/७१मा १९ अर्ब रुपैयाँ, २०७१/७२मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ ।
सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको भनाइ छ ।
पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन् । तर यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन ।
राष्ट्र ब्याङ्कले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ । पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ ।
पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ ।
कसरी छानिन्छ नोट ?
राष्ट्र बैंकका एक कर्मचारीका अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका तथा अङ्गभङ्ग भएका नोटहरू केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ ।
राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनस् भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ । तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ ।
राष्ट्र बैंकले जलाउनका लागि नोटहरू छुट्याएपछि रु ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ । तर साना दरका नोटमा भने प्वाल पारिँदैन ।
प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ । नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्याइन्छ ।
जलाउनुअघि र्यान्डम स्याम्प्लिङु विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०७६, १३ : ०५
लेखकबाट थप