वडा दशैं सुरु, आजबाट नवमीसम्म के गरिन्छ ?

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, ०७ : ५०
वडा दशैं सुरु, आजबाट नवमीसम्म के गरिन्छ ?

काठमाडौं । यो वर्षको वडा दशैं आजबाट शुरु भएको छ । वडा दशैंको आज पहिलो दिन घटस्थापना हो । हिन्दुहरुको महान् चाड हो वडा दशैं ।

वडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

गाईको गोबरले लिपपोत गरेर तयार पारिएकोअ पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक आज जमरा राख्ने गरिन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ नेपालीहरुले वडादशैं मनाउने गरेका छन् ।

घटस्थापनाको साइत विहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्रमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
वडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस