नेकपाले असोज ६ र ७ मा पहिलो स्कुल चलाउने

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ०७ : ३०
नेकपाले असोज ६ र ७ मा पहिलो स्कुल चलाउने

काठमाडौं । सत्तारुढ दल नेकपाले अबको ४ दिनपछि काठमाडौंमा केन्द्रीय प्रशिक्षण (पार्टी स्कुल) चलाउने भएको छ । पार्टीको स्कुल विभागको आयोजनामा त्यस्तो प्रशिक्षण सञ्चालन हुन लागेको विदेश विभागका उपप्रमुख देवेन्द्र पौडेलले जनाएका छन् ।

प्रशिक्षणका लागि कम्तीमा २ सय जना अगुवा कार्यकर्तालाई सहभागी गराउने योजना विभागले बनाएको छ । तर ति २ सय जना कसरी प्रतिनिधित्व गराउने भन्ने बारेमा भने विभागले कुनै निर्णय लिईसकेको छैन ।

अगुवा कार्यकर्ताहरुलाई सहभागी गराउने गरी पहिलो पटक विभागले प्रशिक्षण चलाउन लागेको हो, विभाग उपप्रमुख पौडेलले बताए ।

पार्टीका केही केन्द्रीय नेता तथा जनवर्गीय संगठनबाट प्रतिनित्वि गराउने गरी तयारी गरिरहेको छ । बुधबार बसेको विभागको बैठकले केन्द्रीय प्रशिक्षण चलाउन गरिएको तयारीका बारेमा छलफल गरेको थियो ।

विभागमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल प्रमुख र स्थायी समितिसदस्यद्धय देवेन्द्र पौडेल र वेदुराम भुषाल सहसंयोजक छन् ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली, प्रचण्ड, पार्टीका अन्य केही वरिष्ठ नेता, विदेशी भाइचारा पार्टीका नेताहरु सम्मले सहभागीलाई प्रशिक्षण दिने तयारी छ ।

प्रशिक्षकलाई प्रशिक्षण दिने विषयवस्तु नै तोकेर कार्यक्रम तय गरिएको छ, नेताहरुले एकै विषयमा केन्द्रीत हुन सक्ने देखेर विषय वस्तु नै तोकेर प्रशिक्षक तय गरिएको स्कुल विभागका नेताहरुले बताएका छन् ।

पार्टीका मात्र नभई पार्टी बाहिरका नेताहरुलाई पनि विषयवस्तु हेरेर विषय विज्ञताका आधारमा प्रशिक्षणका लागि सहभागी गराइने तयारी पनि नेकपाको स्कुल विभागले बनाएको छ ।

प्रशिक्षणका क्रममा राष्ट्रिय राजनीति, विदेशका कम्युनिष्ट पार्टीका गतिविधि सम्मका विषयमा पनि जानकारी गराइने तयारी नेकपाले बनाएको छ ।

स्कुलका क्रममा ५ ओटा प्रतिवेदन पेश हुने र त्यसमै केन्द्रीत रहेर नेताहरुले प्रशिक्षण दिने पनि बताए । नेपालका तर्फबाट ३ र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट २ ओटा प्रतिवेदन पनि चलाउने गरी तयारी भईरहेको पनि नेकपाले जनाएको छ ।

त्यसका लागि केही विदेशका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु काठमाडौं आईसकेको पनि नेकपाको विदेश विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस