काठमाडौं । गायक रामकृष्ण ढकालले पाँच करोड ऋण नतिरेको सूचना पत्रिकामा सार्वजनिक भएको छ । ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको हो ।
ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोपसमेत लगाएका छन् । गायक ढकालले चार वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गरेको बताएका छन् ।
ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । तर, लिलामीको मूल्यले पनि ऋण असुलउपर नभएको सहकारीको भनाइ छ ।
सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।
सूचनाको एउटै व्यहोरामा छुट्टाछुट्टै कर्जा रकमसहित केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शीतल भिडियो चलचित्र मन्दिरको नाम पनि उल्लेख छ । तर, उनीहरु ढकालसँग सम्बन्धित होइनन् । सबैभन्दा धेरै शीतल भिडियो चलचित्रको नाममा करिब ८ करोड रुपैयाँ ऋण देखाइएको छ ।
सहकारीबाट हालै प्रकाशित सूचनामा सहकारीले ‘ऋण तिर्न आउनू भनेर’ उल्लेख नगरेकाले केवल तर्साउने वा विवादमा ल्याउने उद्देश्यले मात्र सूचना प्रकाशित गरिएको हुन सक्ने गायक ढकाल बताउँछन् । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानीमा जान सक्ने ढकाल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस