शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्षले पदक जित्नेलाई नगद पुरस्कार दिने

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १२ : ५४
शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्षले पदक जित्नेलाई नगद पुरस्कार दिने

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले १२ औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कारको घोषणा गरेका छन् ।

अध्यक्ष श्रेष्ठले स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५० हजार घोषणा गरेका छन् । साथै रजक जित्ने प्रत्येक खेलाडीलाई ३० हजार रकास्य जित्ने प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरेका हुन् ।

दुई दिन काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो । यस्तै ७ रजत र ६ कास्य पदक जितेको थियो । १८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा अफगानिस्तान टिम च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

नेपालको लागि पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै नेपालका नरेश मुन्जिकारले पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा र मल्लिका शाक्यले महिलाको मोडल फिजिकमा स्वर्ण जितेका हुन् ।

यस्तै बडिबिल्डिङको ६० केजीमा कमल भण्डारी र ७० केजीमा रमेश कार्कीले नेपालको लागि रजत जितेका थिए । यसैगरी पुरुष एथ्लेटिक्स फिजिकमा निशानत मान प्रधान, पुरुष फिटनेसमा राजु राई, महिला एथ्लेटिक्स फिजिकमा रजनी श्रेष्ठ र महिलाको मोडल फिजिकमा पूजा श्रेष्ठले रजत जितेकी थिइन् । 

यस्तै कास्य जित्नेमा ५५ केजीमा किशन दास दिवाकर, ६५ केजीमा प्रज्वल मान शाक्य, ७५ केजीमा अशोक महर्जन र ८५ केजीमा मिलन सिजापती छन् । यस्तै पुरुष जुनियर बडिबिल्डिङमा कृष्ण महर्जन र महिला एथ्लेटिक्स फिजिकमा सुजिता मानन्धरले पनि कास्य जितेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस