१२औं दक्षिण एसियाली शारिरिक सुगठनको तयारी पूरा

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, १९ : ३८
१२औं दक्षिण एसियाली शारिरिक सुगठनको तयारी पूरा

काठमाडौं । तेस्रो पटक नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जनाएको छ।

यही बिहीवारदेखि आइतवारसम्म काठमाडौंमा '१२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता-२०७६' हुँदैछ। प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुने आयोजकले जनाएको छ। एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसको तयारी पूरा भएको बताए।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ। प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ।  शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सो भन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एक-एक स्पर्धा हुनेछ। यसैगरि महिला एथ्लेटिक फिजिक्स र महिला मोडलफिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ।

यस्तै प्रतियोगितामा शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफी समेत सार्वजनिक गरिएको छ। विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले उक्त ट्रफी सार्वजनिक गरे।

प्रतिक्रिया दिनुहोस