हिरोइन बन्न अमेरिकादेखि आइन् क्रिष्टिना

बुधबार, १८ असार २०७६, २१ : ०३
हिरोइन बन्न अमेरिकादेखि आइन् क्रिष्टिना

राजन घिमिरे

पछिल्लो कालखण्डमा कुनै समय यस्तो पनि थियो– नेपाली नयाँ पुस्ताका युवा–युवतीलाई ‘नेपाली चलचित्रमा अभिनय गर्ने हो ?’ भनी प्रस्ताव राख्न गइयो भने तिरस्कारयुक्त भावमा मुखभरिको जवाफ पाइन्थ्यो । प्रस्ताव राख्नेले ग्लानी महसुस गर्नुपर्ने अवस्था आइपर्थ्यो– अहो ! भन्नै नहुने भनिएछ, राख्नै नहुने प्रस्ताव राखेर गल्ती गरिएछ !

नेपाली सिनेमाप्रति त्यति धेरै नकारात्मक भाव या हेय पैदा भएको थियो । नेपाली सिनेमा त नपढेका, नबुझेका र देश–विदेश नघुमेकाहरूले खेल्ने र हेर्ने फाल्तु कुरा हो भन्ने सोचले ग्रस्त थियो युवा पुस्ता । तिनका शिक्षित अभिभावकहरू पनि यस्तै सोच राख्दथे । यस्तो परिवेश र संस्कारमा हुर्केका परिवारका सन्तान नेपाली सिनेमामा देखिनु भनेको ठूलै जितसरह हुन्थ्यो ।

नेपाली चलचित्रप्रति अभिभावककै धारणा सकारात्मक नभएपछि छोराछोरीको लगाव रहने सवाल नै रहेन । यस्तो परिवेश वा संस्कारमा हुर्केका परिवारका छोराछोरीहरू नेपाली रजतपटमा देखिनु भनेको ठुलै जितसरह हुन्थ्यो ।

विस्तार–विस्तार नेपाली रजतपटमा नेपाल सुन्दरीहरूको सहभागिता रहन थालेपछि सीमित वर्ग–क्षेत्रमा रूमल्लिरहेको नेपाली सिनेमाको पहुँच, दायरा या उपस्थिति अलिक फराकिलो हुन पुग्यो । तथापि, ‘नेपाल सुन्दरी’हरूले पनि नेपाली सिनेमाको कर्मलाई निरन्तरता दिनेतर्फ दिनुपर्ने जति ध्यान दिएनन् । उनीहरू त केवल ‘कलाकार’ भनेर चिनाउने, सकभर दाम पनि हात पार्ने र देशी–विदेशी युवक समातेर घरजम गर्ने या अरू नै क्षेत्रमा करिअर बनाउने गर्न थाले । अर्थात्, उनीहरूले नेपाली चलचित्र क्षेत्रलाई ‘च्याँखे दाउ’ हान्ने थलो बनाए । यस प्रकार सुन्दरी मोडलहरूको आगमनले पनि सिनेमा क्षेत्रको आकर्षण या गरिमा बढाउन कुनै योगदान पुऱ्याएन ।

तथापि, नयाँ–नयाँ अपरिचित अनुहार एवम् परिवेशबाट ‘नायक–नायिका’ आउने–जाने अवस्था हुँदा पनि नेपाली सिनेक्षेत्र अत्तालिएन, जसोतसो आफ्नो यात्रामा अघि बढिरह्यो ।

यतिबेला चाहिँ नेपाली सिनेमाको उठबस, पहुँच र दायरा धेरै फराकिलो र ‘वाह’ गर्नलायकको भएको छ । धेरै पनि पर्दैन, जम्मा एउटा मात्र चलचित्र हिट भैदियो भने त्यसमा संलग्न कलाकारहरू रातारात चिनिने र हिट हुने अवस्था आएको छ । उसले जीवनमा नसोचेको नाम, दाम र फ्रेम हात पार्न सक्ने परिस्थिति बनेको छ । छिचोलेर भन्नुपर्दा, आज पहिलेको भन्दा परिवेश ठ्याक्कै उल्टिएको छ ।


कुनै नेपाली सिनेमाको निम्ति कलाकारको अडिसन आह्वान गरियो भने मूलुक र मूलुकबाहिरबाट समेत नयाँ पुस्ताको ताँती नै लाग्ने गर्छ आजकाल । आफ्ना सन्तानलाई हिरो वा हिरोइन बनाउन फोर्स वा दबाब नै लगाउने समेत गरिन्छ । कुनै समय फिल्म नखेल्न दबाब र चेतावनी दिने अभिभावकहरू आज फिल्म खेल्न दबाब दिन थालेका छन् । यो परिस्थितिले साँच्चै नेपाली सिनेमाले आफ्नो भविष्य युवा पुस्तामाझ एकाएक लोकप्रिय, वजनदार र उच्च तुल्याएको प्रतीत हुन्छ ।

यही परिस्थितिको उपज एउटा उदाहरण हेरौँ । हालै निर्माता र निर्देशक सन्तोष सेनले चलचित्र प्रेमगीत–३ का निमित्त गीतको भूमिकामा अडिसनका लागि सार्वजनिक रूपमा आह्वान गरे । त्यसलाई एक अवसरको रूपमा ‘क्याच’ गर्न नेपालभित्र रहेका र विदेश बसिरहेका समेत हजारौँ युवतीहरूको सहभागिता रह्यो । नेपाली सिनेमाप्रतिको यस्तो चासो र लगाव देख्दा सहजै अनुमान लगाउन सकिन्थ्यो कि वर्तमान नवपुस्तामाझ नेपाली सिनेमाले राम्रैसँग जरो गाडिसकेको छ ।

चलचित्र प्रेमगित–३ का लागि सन्तोष सेनले अडिसनमार्फत पात्र चयन गर्ने जुन काम गरे त्यो साँच्चै स्वागतयोग्य कुरा थियो । उनको यो शैलीले देशमा मात्र होइन कि प्रवासमा रहेका युवामाझ पनि नेपाली सिनेमाको पहुँच बलियो बनेको रहेछ भन्ने छर्लङ्ग भएको छ ।

चलचित्र प्रेमगीत–३ का लागि नेपाललगायत अमेरिका, युके, युरोप, जापान र अष्ट्रेलियामा रहेका नेपाली युवतीहरूबाट अत्याधिक सहभागिका रह्यो । यसबाट पनि के छर्लङ्ग हुन्छ भने विदेश पुगेका नेपाली युवतीहरूले अब नेपाली सिनेमामा पनि आफ्नो भविष्य देख्न थालेका छन् । अमेरिकालगायत विकसित मुलुक जान युवा पुस्ता मरिमेट्छ र पनि अन्ततः त्यस्तो देशसमेत छोडेर नेपाली सिनेमा खेल्न युवा पुस्ता तयार छ अब ।

प्रेम गीत–३ मा गीतमा अभिनय÷मोडलिङ गर्न करिव तीन हजारको हाराहारीमा अडिसन परेकोमा अन्ततः अमेरिकामा रहेकी क्रिष्टिना गुरूङ छनोटमा परेकी छिन् । दुई हजार ७ सय १४ जना युवतीहरूलाई पछि पार्दै छानिएकी क्रिस्टिना प्रेमगीत–३ मा अडिसन दिनकै निम्ति अमेरिकाबाट नेपाल आएकी थिइन् । नेपाली सिनेमामा केही गर्छु भनेर आएकी क्रिष्टिनाको यो लगावबाट के बुझिन्छ भने उनको सोच र उद्देश्य प्रष्ट छ– नेपाली सिनेसंसारमै उनले आफ्नो भविष्य खोज्नेछिन् । अब नेपाली चलचित्रलाई हेप्ने, ब्यङ्ग्य प्रहार गर्ने र उपेक्षा गर्ने समय समाप्त भएको छ । घटना र विचार

प्रतिक्रिया दिनुहोस