‘मेरो पहिचानै ठ्यासकुमारी’

सोमबार, १६ असार २०७६, १९ : ३३
‘मेरो पहिचानै ठ्यासकुमारी’

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘मेरी बास्सै’मा म ‘ठ्यासकुमारी’को भूमिकामा छु। टेलिसिरियलमा आउनुअघि रेडियोमा कार्यक्रम चलाउँथेँ। दमन रूपाखेती दाइ पनि रेडियो कार्यक्रम चलाउनुहुन्थ्यो।

उहाँले ‘हामी टेलिसिरियल बनाउँदै छौँ, खेल्छौ ?’ भनेर सोध्नुभयो। उहाँको कुरा भुइँमा खस्न नपाउँदै मैले ‘हुन्छ’ भनेँ। रेडियो कार्यक्रम चलाइरहेकाले मलाई अभिनय गर्न सहज नै लाग्थ्यो। त्यसअघि टीभीका लागि काम गरेकी थिइनँ। 

टेलिसिरियलमा बिहे गरेर माइतै बसेकी छोरीको भूमिकामा छु। ठेट शब्द बोल्नुपर्छ। सुरुवातका केही भागमा मेरा नाम ‘निर्मली’ थियो। भाइबुहारीले गाली गर्दा नराम्रो शब्द प्रयोग गर्न नमिल्ने भएकाले हात बजाउने गर्थें। त्यसपछि मेरो नाम ‘ठ्यास कुमारी’ बस्यो। 

सेटमा रेडी हुन मलाई आधा घण्टाजति लाग्छ। धोती, चोलो, हातमा चुरा, कपाल धागोले बाटेपछि म ठ्यासकुमारी बन्छु। मेकअप गरेर मैले आफ्नो उमेरभन्दा बूढी देखिनुपर्छ। मेकअपमै बढी समय लाग्छ। सिन त एकदुई टेकमा ओके हुन्छन्। ठ्यासकुमारी बन्दा मैले आफ्नो बोली र लुगामा एकदमै ध्यान दिनुपर्छ। एक हातको हत्केलामा अर्को हातको मुठी राखेर चुरा नबजाएसम्म ठ्यासकुमारी अधुरो भन्ने बुझिन्छ। हात सँगसँगै ओठ पनि बंग्याउनुपर्छ। यस्तो गर्दा साँच्चिकै रिस उठेजस्तो देखिन्छ। 

सुटिङको पहिलो दिन एकदमै डर लागेको थियो। पर्दामा काम गर्दै छु भन्ने खुशी पनि थियो तर राम्रो हुन्छ÷हुँदैन डर पनि थियो। टेलिभिजनमा प्रसारण भएपछि सबैबाट राम्रो प्रतिक्रिया पाएँ। त्यसपछि अझ राम्रो गर्न सक्छु भन्ने लाग्यो। 

सुरुताका सिन गर्दा स्क्रिप्ट नै बिर्सिने गर्थें। त्यसैले क्यामरामा आउनुअघि धेरै पटक स्क्रिप्ट पढ्थेँ। अहिले त्यस्तो हुँदैन। अहिले सजिलै स्क्रिप्ट याद हुन्छ।

निरु खड्का भनेर मलाई खासैले चिन्दैनन्। धेरैले ठ्यासकुमारीका रूपमा मात्र चिन्नुहुन्छ। मेरो घरको नाम परिवार र साथीभाइलाई मात्र थाहा छ। बाटोमा हिँड्दा ‘ऊ ठ्यासकुमारी’ भनेको सुन्छु। आफूलाई दर्शकले चिनेको देख्दा खुशी लाग्छ। टेलिसिरियलले मलाई अलग पहिचान दिएको छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस