कोपा अमेरिका : ब्राजिलको सहज जित

एजेन्सी

शनिबार, ३२ जेठ २०७६, ०८ : ५०
कोपा अमेरिका : ब्राजिलको सहज जित

एजेन्सी । कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियामाथि सहज जित हासिल गरेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले ३–० को जित दर्ता गरेको हो । ब्राजिलको जीतमा काउन्टिन्होले दुई तथा एभर्टन सोआरेसले एक गोल गरे । सबै गोल ब्राजिलले दोस्रो हाफमा गरेको थियो ।

दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कपको ४६औं संस्करण शनिबार बिहानदेखि ब्राजिलमा सुरु भएको हो ।

जुलाई ७ तारिखसम्म सञ्चालन हुने कोपा अमेरिका कपमा एसियाली देश जापान र कतार सहित १२ टोलीको सहभागिता रहने छन् ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया रहेका छन् ।

समूह ‘बी’ बाट अर्जेन्टिना, कोलम्बिया, पराग्वे, एसियाली टोली कतारले प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘सी’ मा उरुग्वे, साविक विजेता चिली, इक्वेडर र अर्को एसियाली टोली जापान रहेको छ । समूहका शीर्ष दुई टोली र दुई उत्कृष्ट तेस्रो टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

कोपा अमेरिका कप महादेश स्तरीय प्रतियोगिता भएकोले यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई मात्र समेटिने गरिन्थ्यो । यस प्रतियोगिता दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय साउथ अमेरिकन फुटबल कन्फेडेरेसन ९कोन्मेबोल० ले आयोजना गर्दै आएको छ । कोन्मेबोल मा १० देश आवद्ध छन् ।

आयोजकले समय सयममा अन्य टोलीलाई पनि पाहुना ९आगन्तुक० को रुपमा सहभागी गराउँदै आएको छ । त्यसैले यसपटक सन् २०२२ को विश्वकप आयोजक कतार र एसियाली फुटबलको पावर हाउस जापानलाई आगन्तुक टोलीको रुपमा समावेश गरिएको हो ।

कोपामा कतारको पहिलो सहभागिता हो । जापानले भने दोस्रो पटक कोपा खेल्दैछ । जापानले यसअघि सन् १९९९ आगन्तुक टोलीको रुपमा कोपा अमेरिका खेलेको थियो ।

कोपा अमेरिकाको सर्वाधिक सफल टोली उरुग्वेले हो । उसले सर्वाधिक १५ पटक उपाधि जितेको छ । त्यसपछि अर्जेन्टिनाले १४ पटक उपाधि उचालेको छ । आयोजक ब्राजीलले आठ पटक उपाधि जितेको छ । यसैगरी पराग्वे, चिली र पेरुले दुई दुई पटक तथा बोलिभिया र कोलोम्बियाले एक एक पटक उपाधि चुमेका छन् । चिलीले पछिल्लो दुई पटक लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस