यूरोप पुगेर प्रधानमन्त्रीले भने : एकता गर्दा भएका सहमतिबारे अब पार्टीले निर्णय गर्छ

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग आज  द्विपक्षीय वार्ता हुने, भोलि भूमिगत रेलमा लन्डनबाट फ्रान्सको प्यारिसका लागि प्रस्थान गर्ने

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, ०८ : ०६
यूरोप पुगेर प्रधानमन्त्रीले भने : एकता गर्दा भएका सहमतिबारे अब पार्टीले निर्णय गर्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व आलोपालोमा अर्का समकक्षी अध्यक्ष प्रचण्डसँग भएको सहमतिमा अब पार्टीले निर्णय लिने बताएका छन् । अलग अलग पार्टी हुदा भएको सहमति एकै पार्टी हुँदा कार्यान्वयन हुनुपर्ने भन्ने नभई त्यो एकीकृत पार्टीको निर्णयका आधारमा मात्र हुने बताएका हुन् ।

युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व परिवर्तनबारे पहिलेको सहमतिले नभई अबको पार्टी निर्णयले मात्र काम गर्ने बताएका हुन् । सोमबार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । ‘के तपाई अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ?’ भन्ने एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताएका हुन् ।

गत साता मात्रै अध्यक्ष प्रचण्डले सहमति कार्यान्वयन हुनेमा आफु आशावादी रहेको भन्दै त्यसबेला भएको सहमतिको स्मरण गरेका थिए । पार्टी एकता अगाडी आलोपालो सरकारको नेतृत्व गर्नेमा नेताहरु विष्णु पौडेल र जर्नादन शर्मालाई साक्षी राखेर यी दुई अध्यक्षले भित्री सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपत्र सार्वजनिक भएसँगै अहिले नेकपाभित्र कम्पन शुरु भएको मात्र छैन, विगतमा जस्तै यो पटक ओलीले सहमति लत्याउँछन या कार्यान्वयन गरेर जान्छन हेर्न बाकी रहेको विश्लेषण राजनीतिक वृतमा हुन थालेको छ ।

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुबै जना अध्यक्ष छन् । उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन् । तर निर्णय प्रक्रियामा पछिल्ला दिनमा ओली निर्णायक र प्रचण्ड सहयोगीको भूमिकामा मात्र देखिन थालेको भन्दै सचिवालय सदस्य वामदेव गौतम लगायत नेताहरुले भूमिका खोज्न प्रचण्डलाई आग्रह गरिरहेका छन् । प्रचण्डले पनि प्रधानमन्त्री र पार्टी अध्यक्षका बीचमा एउटा महत्वपूर्ण जिम्मेवारी आफुले पाए सहज राजनीति अगाडी बढ्ने बताउँदै आएका छन् ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग आज द्विपक्षीय भेटवार्ता 

प्रधानमन्त्री ओलीले आज लन्डनमा ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गत साता सत्तारूढ दलको नेताको पदबाट राजीनामा दिएकी मेले दलको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेकी छन् ।

दुई देशका प्रधानमन्त्रीको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी व्यापार, लगानी तथा बहुपक्षीय चासोका विषयहरूबारे छलफल हुने लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूका गुनासारे पनि छलफल हुने बताइएको छ ।

भूतपूर्व गोर्खा सैनिकहरुले निवृत्तिभरण आदि विषयमा भेदभाव भएको बताउँदै आफ्ना माग सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिएका छन् । तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो । भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दाअघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरुको तुलनामा आफूहरुले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्।

यसअघि गत सेप्टेम्बर महिनामा दुई नेताहरुबीच राष्ट्रसङ्घीय मुख्यालयमा भेटघाट भएको थियो । नेपालमा छिट्टै रेल यातायात सुरु हुने बताउँदै आएका प्रधानमन्त्री ओली भोली बुधवार रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको प्यारिसका लागि प्रस्थान गर्ने अधिकारीहरुले जनाएका छन् । ओली फ्रान्स र ब्रिटेनबीच समुद्रमुनि अवस्थित ब्रिटिश च्यानल भनिने बनाइएको युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस