हाजार्ड चेल्सी छाडेर रियाल मड्रिडमा अनुबन्धित भए

एजेन्सी

आइतबार, २६ जेठ २०७६, १३ : ५७
हाजार्ड चेल्सी छाडेर रियाल मड्रिडमा अनुबन्धित भए

मड्रिड । लामो समयमको चर्चापछि बेल्जियम स्टार इडन हाजार्ड चेल्सी छाड्दै स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका छन्।

रियाल मड्रिडका अनुसार २८ वर्षे हाजार्डले ५ वर्षका लागि क्लबमा बस्ने सम्झौता गरेका हुन्। इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट हाजार्ड १० करोड युरोमा मड्रिडमा आबद्ध भएका हुन्। यसबीच पाँच वर्षको अवधिमा अतिरिक्त ४ करोड ५० लाख युरो पनि हाजार्डले पाउन सक्नेछन्।

यसअघि रियालले टोटेनह्यामबाट ग्यरेथ बेललाई १० करोड १० लाख युरो र म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियानो रोनाल्डोलाई  ९ करोड १० लाख युरोमा अनुबन्धित गरेको थियो। अर्को हप्ता हाजार्ड मड्रिड आउन पुग्ने सञ्चारमाध्यमले जनाएका छन्। युरो कप २०२० को क्वालिफायरअन्तर्गत बेल्जियमका लागि कजाखस्तानसँग शनिबार र स्कटल्यान्डसँग मंगलबारको खेलपछि हाजार्ड मड्रिड जाने बताइएको छ।

हाजार्डसँगै रियालले पोर्टोका डिफेन्डर इडर मिलिटाओ र इन्ट्याक्ट फ्रान्कफर्टका लुका जोभिचका लागि खासै खर्च गर्नेछैन। रियालका प्रशिक्षक जिनेदिन जिदानले हाजार्डलाई क्लबका भित्र्याउँदै नयाँ टोली बनाउने योजना बुनिरहेका छन्। क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्समा बिक्री गरेपछि रुष्ट समर्थकहरू हाजार्डको आगामनसँगै निकै खुसी हुनेछन्।

रोनाल्डोले छाडेसँगै पछिल्ला सिजन रियालले घरेलु लिग र युरोप भ्रमणमा निकै खराब नतिजा सामना गरेको थियो। ला लिगामा च्याम्पियन बार्सिलोनाभन्दा १९ अंकले पछाडि परेको रियाल च्याम्पियन्स लिगमा अयाक्ससँग अन्तिम १६ मै स्तब्ध भएको थियो। यस क्रममा क्लबले गोलका लागि निकै खडेरीको सामना गर्नुपरेको थियो। त्यसैले पनि जिदानले आफ्नो टोलीमा नयाँ संरचना बनाउन लागेका हुन्। सोही योजनाअनुरूप उनले हाजार्डलाई भित्र्याउन सफल भए।

यसअघि दुई वर्षअगाडि नै हाजार्डलाई भित्र्याउने क्लबको योजना असफल भएको थियो। हाजार्डले चेल्सीमा सात सिजन बिताउँदा १ सय १० गोल गरेका छन्। यसअघि रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत महिना पनि हाजार्डलाई केही वर्षका लागि भिœयाउने योजना बनाइरहेको र उनी यसै वर्ष आउने बताएका थिए। हाजार्डको आगमनसँगै १८ वर्षे ब्राजिलियन स्टार भिनिसियस जुनियरको स्थान खोसिनेछ।

रियालमा अनुबन्धित हुने पक्का भएसँगै हाजार्डले कुनै गोप्य नरहेको र बाल्यावस्थादेखि नै रियाल मड्रिडमा खेल्ने इच्छा पूरा भएको बताएका छन्। ‘चेल्सीमा हरेक समय निकै सम्झनयोग्य समय बिताएँ,’ हाजार्डले भने,‘चेल्सीले मलाई फुकुवा गर्न चाहेको थिएन। तर, मैले नै रियाल रोजें।’ चेल्सीका निर्देशक मारिना ग्रानोसकाइयाले हाजार्डले क्लब छाड्नु दुःखको क्षण भएको प्रतिक्रिया दिएकी छन्।

‘हामीले अब गुडबाई हाजार्ड भन्नुबाहेक केही छैन। उनलाई बाल्यकालमा रियालबाट खेल्ने सपना थियो,’ मारिनाले भने, ‘त्यो अब पूरा भएको छ। फरक देश र फरक क्लबमा थप सफलताको शुभकामना छ।’ हाजार्डले चेल्सीबाट ३ सय ५२ खेल खेल्दै १ सय १० गोल गरेका छन्। त्यस क्रममा उनले ९२ असिस्ट प्रदान गरेका थिए। चेल्सीबाट उनले दुई प्रिमियर लिग, दुई युरोपा लिग, समान १/१ एफए कप र लिग कप जितेका छन्।  हाजार्ड सन् २०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सीमा पुगेका थिए।

‘चेल्सीमा हरेक समय निकै सम्झनयोग्य समय बिताएँ। चेल्सीले मलाई फुकुवा गर्न चाहेको थिएन। तर मैले नै रियाल रोजें।’

प्रतिक्रिया दिनुहोस