राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे आयोगको चिन्ता, सुरक्षा व्यवस्था बारे छलफल

सोमबार, ०८ माघ २०७४, १६ : २१
राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे आयोगको चिन्ता, सुरक्षा व्यवस्था  बारे छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा छलफल गरेको छ । सोमबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थिति तथा निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ  ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराएकोमा सबै सुरक्षा निकायलाई बधाइ एवं धन्यवाद दिएका थिए ।

निर्वाचन आयुक्त एवं उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्नु पर्नेमा जोड दिए । निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरी प्रसाद पौड्याल समेत सहभागी बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको  सुरक्षा कार्ययोजनाबारे जानकारी गराएका थिए ।

सो बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी., नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी तथा रक्षा, गृह मन्त्रालय र निर्वाचन आयोगका उच्च तहका अधिकारीहरूको सहभागिता रहेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस