थप हवाई आक्रमण गर्न नेतान्याहुको आदेश

एजेन्सी

आइतबार, २२ बैशाख २०७६, १८ : ५५
थप हवाई आक्रमण गर्न नेतान्याहुको आदेश

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनु भएको छ । 

गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताउनु भएको छ । 

 शनिबारबाट गाजातर्फबाट हमास समूहले ४ सय ५० भन्दा बढी रकेट आक्रमण गरेको इजरायलको दाबी रहेको छ । 
  यता गाजाका अधिकारीहरुले इजरायलले गरेको हवाई आक्रमणमा दुई आतङ्ककारीसहित छ जनाको मृत्यु भएको समाचार दिएको छ । 

हवाई आक्रमणमा गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेका दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएका इजरायली सेनाको दाबी रहेको छ  । 

 गाजाको सीमा इलाकामा पर्ने इजरायलको आसकेलोन सहरमा गाजातर्फबाट रातभर भएको रकेट आक्रमणमा परी ५८ वर्षीय एक इजरायली नागरिकको मृत्यु भएको इजरायली प्रहरीले जानकारी दिएको छ । (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस